A Levels MA

साबिककै आधारमा शिक्षक सेवा आयोगले विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले साबिककै आधारमा कक्षा एकदेखि १० सम्मका लागि मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ ।

विद्यालय शिक्षाको संरचना कक्षा ८ सम्म आधारभूत तथा कक्षा ९ र १२लाई माध्यमिक तह निर्धारण गरेपनि कक्षा ११ र १२ मा ऐच्छिक विषय धेरै भएको हुनाले तत्काल पुरानै संरचनामा विज्ञापन गर्ने तयारी आयोगले गरिरहेको हो ।

शिक्षक सेवा नियमावली (दशौं) संशोधनअनुसार विज्ञापन गर्नका लागि शिक्षा नियमालली तथा शिक्षा ऐन नै संशोधन गर्नु पर्ने भएको हुनाले साबिककै तीन तहमा विज्ञापन गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले जानकारी दियो ।

खुला विज्ञापनका लागि आयोग पूर्ण तयरी अवस्थामा रहेको आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए । आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा प्राविधिक कारणले निर्धारित समयमा गर्न नसकिएको हुनाले खुला विज्ञापनमा केही ढिलाइ भएको प्रवत्ता आचार्यले बताए । ‘नम्बर कोडिङको कार्य धमाधम भइरहेको हुनाले यसको प्रशोधन हुने वितिकै आयोगले केही दिनमा लाइसेन्सको नतिजा सार्वजनिक गरी साबिककै आधारमा एक पटकलाई विज्ञापन गरिने उनले जाकारी दिए ।

शिक्षक दरबन्दी मिलानपछि पनि ३९ हजार शिक्षक दरबन्दी रिक्त हुन्छन् यसमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक व्यवस्थापन गर्ने भएको छ । बाँकी रहेका तीनै तहका करिब ८ हजार दरबन्दीमा खुला विज्ञापन गरिने आयोगले जानकारी दियो । ‘यकिन संख्या त शिक्षा विकास तथा मानव स्रोत केन्द्रले दरबन्दी विवरण दिएपछि मात्र हुन्छ ।’ प्रवत्ता आचार्यले भने, ‘यसपटक भने परीक्षा प्रणाली विगतमा भन्दा फरक हुन्छ ।’

योग्य र दक्ष शिक्षक छनौट गरी शिक्षक शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले लोक सेवा आयोगको जस्तै परीक्षा प्रणाली र पाठ्यक्रम तयार गरेको शिक्षक सेवा आयोगले जानकारी दियो ।

आयोगका अनुसार परीक्षामा थप प्रतिस्पर्धा गराउने उद्देश्यले माध्यमिक तहको शिक्षक छनौटका लागि सामान्य परीक्षा सय पूर्णांकको र उत्तीर्णांक ५० कायम गरिएको हो । आयोगका प्रवत्ता दामोदर आचार्य भन्छन्, ‘शिक्षक सेवा आयोगलाई अझ बढी विश्वसनीय बनाउन पाठ्यक्रम परिमार्जन गरेका हौं ।’

आयोगले सामान्य परीक्षामा प्रति नम्बर दुई प्रदान गर्ने गरी ५० वटा प्रश्न सोद्ने भएको छ । परीक्षार्थीले गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरबापत एक प्रश्नको २० प्रतिशत नम्बर माइनस गर्ने भएको छ । परीक्षार्थीले प्राप्त गरेको ५० नम्बरलाई लिखित परीक्षाको नतिजामा जोडिने भएको छ ।

परिवर्तित पाठ्यक्रम अनुसार अब माध्यमिक तहको प्रतिस्पर्धी उमेद्वारले ४० नम्बरको सामान्य ज्ञानबाट २० प्रश्न, शिक्षा सम्बन्धी आधारभूत ज्ञानबाट २४ नम्बरको १२ प्रश्न, बौद्धिक परीक्षणबाट १६ नम्बरको ८ प्रश्न, सूचना तथा सञ्चार प्रविधिबाट १० नम्बरको ५ प्रश्न र संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरूबाट १० नम्बरको ५ प्रश्न सोद्ने भएको छ । भने, आधारभूत तहको सामान्य परीक्षामा सामान्य ज्ञानबाट १५ प्रश्न, शिक्ष सम्बन्धी आधारभूत ज्ञानबाट २० प्रश्न, सूचना तथा सञ्चार प्रविधिबाट ५, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरूबाट ५ र बौद्धिक परीक्षणबाट ५ प्रश्न सोद्ने भएको छ । मूल्याङ्कन प्रक्रिया भने आधारभूत तहको पनि माध्यमिक तहको जस्तै गरिने भएको छ ।

Thuprai - Books and E-books