After SEE Portal

एसईई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

Bridge Course

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बागलुङ्का प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो ।

सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् । टाढा–टाढाका विद्यार्थी हिजोअस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् ।

ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आएका छन् ।

“विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उनले भने, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।”

एकातिर अभिभावकको खर्च बढ्ने र अर्कातिर एक्कासि नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा गाउँका विद्यार्थीलाई मनौवैज्ञानिक असर पर्ने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

नेपाल माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ पशु विज्ञानको पढाइ हुन्छ । परीक्षा केन्द्र सदरमुकाममा तोकिँदा यातायातदेखि होटलको खाना र बासमा विद्यार्थीको ठूलो खर्च हुने गरेको छ । अरुकोभन्दा प्राविधिक धारका विद्यार्थीले परीक्षा दिने विषय पनि धेरै छन् । साधारण विषयतर्फको परीक्षा १७ गते सकिने भए पनि प्राविधिकतर्फको परीक्षा २० गतेसम्म चल्ने जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले चाहेर पनि यो वर्ष परीक्षा केन्द्र थप्न नसकिएको बताए ।

“मन्त्रालयमा पनि यो विषयमा कुरा पुगेको छ, अर्को वर्षदेखि प्राविधिक धारका लागि थप परीक्षा केन्द्रको व्यवस्था हुन्छ”, उनले भने, “तीन सयसम्म विद्यार्थी हुँदा तीन वटासम्म केन्द्र तोक्न सकियो भने पनि धेरै सहज हुने देखिन्छ ।”

विद्यार्थी थोरै भएका ठाउँमा परीक्षा केन्द्र राख्दा राज्यको व्ययभार पनि बढ्ने हुँदा माथिबाटै सोही अनुसारको प्रबन्धका लागि निर्देशन हुने गरेको एकाइले जनाएको छ ।

सदरमुकामदेखि १२० किमि टाढा निसीखोला गाउँपालिकासम्मका विद्यार्थी एसइई दिन सदरमुकाम आएका छन् । त्यहाँको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पनि प्राविधिकको विषयमा पढाइ भइरहेको छ । एकाइ प्रमुख उपाध्यायका अनुसार प्राविधिकतर्फ यहाँका विद्यालयमा कृषि, पशु विज्ञान, सिभिल इन्जिनियरिङ र कम्युटर इन्जिनियरिङको पढाइ हुन्छ ।

प्राविधिक धारसहित जिल्लाका कुल चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुँदैछन् । तीमध्ये साधारण संस्कृतका १२, गुरुकुलका पाँच र दृष्टिविहीन दुई विद्यार्थी पनि छन् । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिकालगायत सामग्री पुर्याइएको एकाइले जनाएको छ ।

एकसय आठ सामुदायिक, ३२ संस्थागत र एक खुला गरी १४१ विद्यालयका परीक्षार्थीले एसइई दिनेछन् । कोभिड–१९ महामारीका कारण गएका दुई वर्षमा आन्तरिक मूल्याङ्कमार्फत एसइई नतिजा सार्वजनिक गरिएको थियो । अहिले महामारी थामिएर स्थिति सामान्य बनेपछि भौतिक रुपमै परीक्षा सञ्चालन हुन लागेको हो ।

गण्डकीका ४६ हजार १९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१ विद्यालयका १० हजार ६२१ विद्यार्थी सहभागी बन्नेछन् ।

जिल्लाका ११७ सामुदायिक, १५९ निजी र १५ वटा गुरुकूल तथा गुठी विद्यालयबाट एसईई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

त्यस्तै सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि २२३ केन्द्राध्यक्ष, ३१२ सहायक केन्द्रध्यक्ष, दुई हजार ३११ निरीक्षक, ४५८ परीक्षा सहायक, ९२५ कार्यालय सहयोगी र करिब तीन हजार ३४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तरपुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको उनले जानकारी दिए ।

निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइ सकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पु¥याइसकेको छ ।

परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरूलाई अभिमुखीकरण गराइसकिएको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books