एन.प्याब्सनमा संगठन विस्तारमा तीव्र , नयाँ सदस्य विद्यालयहरूको आकर्षण

काठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य विद्यालयहरूलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार लक्ष्मी पार्टी प्यालेस इनरुवामा आयोजित स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम मार्फत २१ वटा नयाँ निजी विद्यालयहरूको एन. प्याब्सनमा औपचारिक प्रवेश गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एन.प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष तथा संगठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीले संगठनलाई सुदृढीकरण र सशक्त बनाउँदै लैजान थालिएको अभियानबारे जानकारी दिए । “संगठित नेतृत्वप्रति केही असन्तुष्टि देखिए पनि अबका दिनमा त्यो दोहोरिन दिने छैनौं ,” ठकुरीले भने, “सरकारले ल्याउन तयारीमा रहेको विद्यालय शिक्षा विधेयक (ऐन) २०८० ले अघिदेखि कम्पनीमा दर्ता भई शिक्षा एन, नियमावली अनुसार सञ्चालनमा रहेका  विद्यालयहरूलाई कुनै अफ्ठ्यारो नपार्ने धारणा समेत राखे ।”

एन.प्याब्सन सुनसरीका तदर्थ समिति संयोजक खगेन्द्र के।सी।ले जिल्लामा नयाँ सदस्य विद्यालयहरू आकर्षित भइरहेको जानकारी दिए। “निकट भविष्यमा हामी जिल्लाको मूल संगठनका रूपमा स्थापित हुनेछौं,” उनले भने। उनका अनुसार हालसम्म २१ विद्यालयहरू औपचारिक रूपमा एन।प्याब्सनमा आबद्ध भइसकेका छन् र केही महिना भित्रै अझै धेरैको संख्यामा विद्यालयहरू आवद्ध हुने कुरा बताए ।

सोही दिन दिउँसो झापा जिल्ला संयोजक धर्म राज माझीको अध्यक्षतामा भएको भेट्घाट तथा नयाँ सदस्य विद्यालय प्रवेश कार्यक्रममा सङ्गठन विभाग प्रमुख ठकुरीले ९ वटा नव प्रवेशी सदस्यहरूलाई प्रमाण पत्र वितरण, बधाई र शुभकामना दिँदै स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा शुभामना सन्देश पठाउँदै एन.प्याब्सनकी संस्थापक तथा केन्द्रिय अध्यक्ष गीता क्षेत्री राणाले आगामी दिनमा संगठन विस्तारलाई देशभर तीव्र रूपमा अघि बढाउने बताइन् । “ झापा, सुनसरी जिल्लासँगै अन्य जिल्लामा समेत पुगेर विद्यालयको शैक्षिक गुणस्तर क्षमता वृद्धिमा सघाउने र सदस्यता अभियानलाई सशक्त बनाउने योजना रहेको ,” सन्देश मार्फत उनले भनिन्।

कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश सह–सचिव र मोरङ, सप्तरीका अध्यक्ष पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।  कोशी प्रदेश केन्द्रीय संयोजक तथा उपाध्यक्ष कुमार भट्टराईका अनुसार सुनसरी र झापा जिल्लामा सयौं नयाँ विद्यालयहरू सदस्यता लिने तयारीमा रहेका छन्  ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले केही समय अघि झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको थियो ।