अब एसईईको प्रश्नपत्र के हुन्छ ?

प्रवेशिका परीक्षा (एसईई) स्थगित भएपछि प्रश्नपत्रलाई कसरी सुरक्षा प्रदान गर्ने भन्ने परीक्षा नियन्त्रण कार्यालयका लागि टाउको दुःखाइको विषय बन्न पुगेको छ ।

यतिबेला सबै प्रश्नपत्र परीक्षा केन्द्र नजिकका प्रहरी चौकीमा राखिएका छन् । देशभरि एक हजार ९९५ परीक्षा केन्द्र कायम गरिएका थिए ।

प्रश्नपत्र नबाहिरियूञ्जेलसम्म तिनलाई प्रयोग गर्न मिल्छ र त्यसको सुरक्षाको प्रवन्ध कसरी मिलाउने भन्ने बारेमा आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बैठक बस्ने भएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले विहीबार अपरान्ह केन्द्रीय सुरक्षा समितिको बैठकले प्रश्नपत्रको सुरक्षाका लागि अपनाउने रणनीतिका बारेमा निर्णय गर्ने जानकारी दिए । शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ र सो समितिमा सुरक्षाका तीनवटै अंग रहने व्यवस्था छ ।

परीक्षा नियन्त्रण कार्यालयले करिव ५१ लाख थान प्रश्नपत्र छपाइ गरेको थियो । प्रश्नपत्र छपाइमा करिव दुई करोड रुपियाँ खर्च भएको छ । जनक शिक्षा सामग्री केन्द्रमा सुरक्षाका तीनवटै अंगको घेरामा प्रश्नपत्र छपाइ हुँदै आएको छ । 

पनिकाले अनिवार्य छ विषयका प्रश्नपत्र हरेक प्रदेशका लागि फरक तयार गरेको छ । गत वर्ष पनि प्रहरी चौकीबाट प्रश्नपत्र बाहिरिदा प्रदेश नम्बर २ मा अनिवार्य विषयमा पुनः परीक्षा सञ्चालन गर्नुपरेको थियो । गत वर्ष प्रश्नपत्र, उत्तरपुस्तिका, जनशक्ति परिचालन लगायत गर्दा एक दिनको परीक्षा रद्द हुँदा करिव एक करोड रुपियाँको क्षति पुगेको भनाइ पनिकाका पदाधिकारीको छ ।

एसईई परीक्षामा ४९ विषयका परीक्षार्थी छन् । परीक्षाका लागि चार लाख ८२ हजार ७०७ परीक्षार्थी तयारी अवस्थामा रहेका बखत कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका रुपमा वुधबार साँझ प्रधानमन्त्री केपी ओलीको निर्देशनमा परीक्षा स्थगन गर्ने निर्णय सरकारले गरेको थियो । यस विषयलाई लिएर दुवै किसिमका टिप्पणी गरिएको पाइएको छ । सामाजिक सञ्जालमा पक्ष र विपक्षबीच दोहोरी चलेको पनि देख्न पाइन्छ ।

Thuprai - Books and E-books