A Levels MA

नो अब्जेक्सन लेटर वितरण सुरु

बैदेशिक शिक्षाका लागि आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी)को वितरण कार्य सुरु गरिएको छ । गत फागुनबाट बन्द गरिएको नो अब्जेक्सन लेटर पुनः वितरण गर्ने दिने भनि गत साता मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सो निर्णयका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक पर्ने विद्यार्थीलाई नो अब्जेक्सन लेटर उपलब्ध गराउन थालेको हो ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले कोभिड–१९ का कारण दिनमा ३० देखि ३५ जनालाई मात्र वितरण गर्ने गरिएको बताए । 

उनका अनुसार दैनिक चार सयदेखि पाँच सय जनाको आवेदन पर्ने गरेको छ । आवेदन बढी सङ्ख्यामा पर्ने गरेको र कम सङ्ख्यामा वितरण गर्ने गरिएकाले आवेदनको चाङ् लागेको छ ।

नो अब्जेक्सन लेटर चाहनेले अनलाइन विधिबाट आवेदन दिनुपर्ने हुन्छ । विद्यार्थीले पठाएको शैक्षिक प्रमाणपत्र लगायतको सत्यापनपछि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले रकम जम्मा गर्न सन्देश दिन्छ । सोहीका आधारमा विद्यार्थीले राष्ट्रिय वाणिज्य बैङ्कमा गएर शुल्क बुझाउनुपर्ने हुन्छ ।  

महाशाखा प्रमुख सापकोटाले वाणिज्य बैङ्कमा रकम जम्मा गरेको भौचर अपलोडपछि विद्यार्थीलाई सम्पर्क गर्ने दिन र समय तोकिने गरिएको बताउँदै भने, “सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सबै विद्यार्थीलाई एकैपटक बोलाउन सकिदैन । पालैपालो बोलाउने गरिएको छ । हरेक दिन विद्यार्थी सङ्ख्या बढाउँदै जानेछौँ ।”

आवेदनको सङ्ख्या अत्याधिक भएकाले महाशाखाका कर्मचारीलाई कार्यालय समय बाहेकमा समेत काम लगाइएको छ । अनलाइनबाट आवेदन दिनुपरे पनि नो अब्जेक्सन लेटर विद्यार्थी वा निजले पठाएका सम्बन्धितलाई उपलब्ध गराउने गरिएको छ र सो लिन जानेले ‘ओर्जिनल’ प्रमाणपत्रसाथैमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

Thuprai - Books and E-books