A Levels MA

नयाँ नक्सा नछाप्ने प्रकाशकमाथि कारवाही

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । 

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आज सम्पन्न ८८ औँ बैठकमा उनले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारवाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए । 

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारवाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए । 

प्रकाशक र बिक्रेताले पुरानो पुस्तकको आवरण परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । “तपाईहरुले अनुगमन गर्नुस् । देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख भएका पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारवाही गर्नुस्” उनले बैठकमा भने । 

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्ने माथि कडा कारवाही गरिने जानकारी दिए । उनले भने, “यस विषयमा तत्काल अनुगमन गर्ने छौँ ।  गल्ती गर्ने प्रकाशक र बिक्रेतामाथि कारवाही प्रक्रिया अघि बढाउने छौँ ।”

उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारवाही गर्नुपर्ने बताए ।

अधिकाँश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए । 

उनले भने, “पुरानो नक्सा राखेर पुस्तक छपाइ गरेको जानकारी पाएका छौँ । तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएका छौँ ।” 

अधिकाँश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, सामान्य ज्ञान (जीके) लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाइएको छ । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकलाई पुस्तक छपाइका लागि स्वीकृत दिनसमेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६–८ को नयाँ पाठयक्रम स्वीकृत गरेको छ ।

Thuprai - Books and E-books