कारोना महामारीका कारण दुई वर्षसम्म नयाँ शैक्षिक सत्रको पहिलो दिन विद्यालय टेक्न नपाएका बालबालिकाले २०७९ को नयाँ शैक्षिक सत्र सुरु भएको दुई दिन पछि विद्यालयमा प्रवेश गरेका छन् । यो शैक्षिक सत्र जेठ १ गतेबाट नै सुरु भएको भए पनि सार्वजनिक बिदाका कारण आज पहिलो दिन बालबालिका विद्यालय प्रवेश गरेका हुन् ।
महामारीका कारण नियमित विद्यालय जान नपाएका धेरै बालबालिका नयाँ उत्सहका साथ नयाँ कक्षामा प्रवेश गर्न पाएकोमा उर्षित भएको बताउँछन् । भक्तपुरको सूर्य विनायक नगरपालिकाको अरनिको माविमा कक्षा १०मा अध्ययनरत सोना न्यौपाने आज पहिलो दिन विद्यालयमा जान पाएकोमा खुसी लागेको बताउँछिन् । ‘धेरैपछि पहिला जस्तै नयाँ कक्षामा पहिलो दिन नै जान पाइयो खुसी छु ।’ उनी भन्छिन्, ‘अब फेरी लामो समय विद्यालय जान नपाइ घरैमा थुनिएर बस्न नपरोस् भनेर खुसी लागेको छ ।’
उनी विद्यालय जान पाएकोमा हर्षित छिन् भक्तपुरकै कक्षा ९ मा अध्ययरत सोहन न्यौपाने । उनलाई पनि अब कहिल्यै घरैमा बस्नु नपोस् जस्तै लागेको छ । स्थानीय रेम्बो बोडिङ स्कुलमा अध्ययरत उनको विद्यालयले भने गत वैशाख २५ गते देखि नै पठनपाठन सुरु गरिसकेको छ । उनलाई पनि अब आफू वर्सभरि नै विद्यालय जान पाएँ हुन्थ्यो जस्तो लागेको छ ।
देशैभर सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिमा आजदेखि नयाँ कक्षा नयाँ उत्साहका साथ विद्यालय पुगेका छन् । केही सामुदायिक विद्यालयले आजदेखि पठनपाठन सुरु गरेको भए पनि केहीले पाठ्यपुस्तक नपाएका बालबालिकालाई पाठ्यपुस्तक वितरण, अभिभावक परामर्श गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् । भने अधिकांश निजी विद्यालयले यस अघि नै नयाँ कक्षा सञ्चालन गरिसकेका छन् ।
काठमाडौं महानगरपालिकाले आगामी ५ जेठदेखि सबै विद्यालयले पठनपाठन सुरु गरिसक्नु पर्ने निर्देशन दिइसकेको छ । अहिले महानगरका सबै विद्यालय बार्षिक कार्यतालिका बनाउन जुटेको हुँदा विद्यालय भने खुलिसकेको प्रधानाध्यापहरू बताउँछन् ।
ललितपुर महानगरपालिकाका सबै विद्यालय आज खुलेको शिक्षा विभागले जानकारी दियो । ललितपुरका अधिकांश विद्यालयले ५ गते सम्ममा पठनपाठन सुरु गरिसक्ने गरी कार्ययोजना बनाइ सकेको शिक्षा विभागको दावी छ ।
शिक्षामा फरक पहिचान बोकेको भक्तपुर नगरपालिकाले भने जेठ १ गतेदेखि नै पठनपाठन सुरु गराइसकेको छ । नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार अधिकांश विद्यालयले पठनपाठन सुरु गरिसकेका छन् ।
उपत्यकाका मात्र होइन उपत्यका बाहिरका विद्यालय पनि नियमित खुल्ने आशाका साथ आजैबाटै खुलेका छन् ।