After SEE Portal

काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिस

Bridge Course

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम प्रधानमन्त्री (कुलपति)समक्ष सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधान छ ।

उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले आज प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो । सो कमिटीमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।

विश्वविद्यालयको उपकुलपति छनोटका लागि पहिलोपटक आवेदन आह्वान गरिएको थियो । आवेदन परेकामध्येबाट छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रको भनाइ छ ।

डा. माकजु दुई पटक काठमाडौँ विश्वविद्यालयको उपकुलपति भइसकेका छन् । उनले तेस्रो कार्यकालका लागि आवेदन दिएका थिए । तर सो विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु उनको पक्षमा छैनन् । चिकित्सक पेशाबाट नेतृत्व तहमा आएका डा. माकजुले आठ वर्षको कार्यकालमा शैक्षिक व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । छनोट समितिले उनको नाम एक नम्बरमा नै सिफारिस गरेको छ ।  

त्यस्तै दोस्रो स्थानमा सिफारिस भएका डा. थापा सोही विश्वविद्यालयका रजिष्ट्रार थिए । दोस्रो कार्यकालका बीचमा उपकुलपति डा. माकजुसँग कुरा नमिल्दा उनले रजिष्ट्रार पदबाट राजीनामा दिएका थिए । उनी हाल सोही विश्वविद्यालयमा इन्जिनियरिङ् विषयमा प्राध्यापन गर्दै आएका छन् । 

शिक्षाविद्का रुपमा रहेका डा. लुँइटेल उमेरका आधारमा कनिष्ट हुन् । उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका गणित शिक्षाका प्राध्यापक हुन् । हाल उनी सोही विश्वविद्यालय सभा सदस्य पनि छन् । 

A Levels MA
Thuprai - Books and E-books