After SEE Portal

विद्यालयका लागि मेरो एक दिन अभियानको घोषणा

Bridge Course

बुटवल, २३ भदौ (रासस) ः सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले रुपन्देहीमा विद्यालयका लागि मेरो एक दिन अभियानको घोषणा गरिएको छ । 

३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा सो अभियानको घोषणा गर्नुभएको हो । 

कार्यक्रममा रुपन्देहीमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको छ । 

३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बुटवलमा शनिबार आयोजित कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुुदर्शन बराल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत अतिथिहरु । तस्वीरः भरत केसी, बुटवल, रासस



यसरी सम्मानित हुनेमा जिपिए ४ ल्याउने न्यू होराइजन इङलिस बोर्डिङ सेकेण्डरी स्कूलका मनिषा थापा, सुम्निमा श्रेष्ठ, सक्षम देवकोटा, गौरव अमगाईं तथा एवनेजर एण्ड न्यू भिजन माध्यमिक विद्यालयका अनमोल चालिसे, स्कलर्स होम इङलिस बोर्डिङ स्कूलका सृष्टि पोखरेल, तिनाउ इङलिस बोर्डिङ स्कूलका सलिना जिसी र आवर पिस ल्याण्ड एकेडेमीका निशान्त पाण्डे रहेका छन् । उनीहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । 

यसैगरी सम्मानित हुनेमा उत्कृष्ट विद्यालयका रुपमा न्यू होराइजन इङलिस बोर्डिङ सेकेण्डरी स्कूल र कालिका मानवज्ञान माध्यमिक विद्यालय रहेका छन् । 

सो अवसरमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुणस्तरीय शिक्षाको विकासका लागि सरोकारवालाबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बुटवलमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई मायाको चिनो प्रदान गर्नुहुँदै । तस्वीर ः भरत केसी, बुटवल, रासस



बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले गुणस्तरीय शिक्षाको विकास नै आजको आवश्यकता रहेको उल्लेख गर्दै समृद्धिको अभियानलाई सार्थक बनाउन दक्ष जनशक्ति उत्पादनमा सबैको चासो हुनुपर्ने बताउनुभयो । 

बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले गुणस्तरीय, वैज्ञानिक र व्यावहारिक शिक्षा नै आजको आवश्यकता भएको बताउँदै अब सोहिअनुरुपका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

A Levels MA