After SEE Portal

केशरमहलका निकायलाई सानोठिमी सारिदै

Bridge Course

केशरमहलमा रहेका तीन वटा शैक्षिक निकायलाई सो स्थानबाट सार्ने निर्णय गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको दवावमा ती निकाय सार्न लागिएका हुन् ।

ती विद्यार्थीसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय हुन् । तिनलाई सार्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरे पनि कुन ठाँउमा स्थानान्तरण गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । तर मन्त्रालयले सानोठिमीमा सार्नका लागि स्थान खोजी गरिरहेको बुझिएको छ ।

पुनःनिर्माण भइरहेको केशरमहल परिसरमा छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छन् । ती शाखामा विद्यार्थीलाई रकम जम्मा गर्न सजिलो होस् भनेर राष्ट्रिय वाणिज्य बैँक पनि छ । त्यही परिसरभित्र नेपाल शिक्षक महासङ्घ पनि छ ।

शिक्षा मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठले आफूहरुले सो स्थानबाट ती निकायलाई नसार्न निकै प्रयास गरे पनि नसकिएको स्वीकारे । “त्यस स्थानबाट सार्न अन्यत्र कतै स्थान फेला पर्न सकेन” उनले भने, “सानोठिमी लिएर जानुपर्ने देखिएको छ ।”

सबै मन्त्रालयलाई सिंहदरबारभित्र राख्ने नीतिअनुसार एक दशकअघि शिक्षा मन्त्रालयलाई केशरमहलबाट सारिएको थियो । मन्त्रालय सरे पनि विद्यार्थीलाई सहज पहुँचका लागि भन्दै केशरमहल परिसरमा टहरामा रहेका तीन निकायलाई सारिएको थिएन । २०७२ सालको भूकम्पले केशरमहललाई निकै क्षति पुर्याएपछि त्यहाँभित्र रहेको पुस्तकालयलाई अस्थायी टहरा बनाएर मुख्य भवनबाहिर सारिएको छ । यसबीचमा केशरमहलभित्र विभिन्न सरकारी निकाय बसिसकेका थिए । पुनःनिर्माणको कार्य थालिएपछि भवनलाई खाली गराइएको थियो ।

केशरमहलभित्र रहेका तीनवटै निकायका कर्मचारीहरुले सानोठिमीमा सार्दा विद्यार्थीहरुले निकै सास्ती भोग्नुपर्ने बताउँदै आफूहरुले निकै अनुनय गर्दा पनि शिक्षा मन्त्रालयका पदाधिकारीहरुले नसार्नका लागि कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले गत साउन २७ गते शिक्षा मन्त्रालयलाई पत्र लेखी त्यहाँभित्र रहेका सबै निकायलाई यथाशिघ्र हटाइ प्रवलीकरण कार्यलाई छिटो छरितो अगाडि बढाउन सहयोग गरिदिन भनेको थियो । त्यसको भोलिपल्ट नै अर्थात् साउन २८ गते शिक्षा मन्त्रालयले सो एकाइलाई पत्र लेखी केशरमहलको मूल भवनको प्रवलीकरण सम्पन्न गरी ती शाखालाई मूल भवनमा स्थानान्तरण गरेपछिमात्र उक्त भवन हटाउन उपयुक्त हुने राय दिएको थियो । मन्त्रालयले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा स्थान अभाव रहेको, सानोठिमीमा भवन वा स्थान खाली नभएको र विद्यार्थीसँग सम्बन्धित निकाय भएकाले सिंहदरबाभित्र स्थानान्तरण गर्न उपयुक्त नहुने व्यहोरासहितको पत्र पठाएको थियो ।

हाल ती निकाय रहेको स्थानमा बगैँचा बनाउने योजना एकाइको छ । केशरमहलको प्रवलीकरणपछि बाहिर निकालिएको ती निकायलाई पुनः केशरमहलको मूल भवनमा ल्याउने कुरा सम्भव नै नरहने भनाइ शिक्षा मन्त्रालयका कतिपय पदाधिकारीहरुको छ । 

स्वप्न बगैँचा विकास समितिले केशरमहलसहितको क्षेत्रलाई नयाँस्वरुपमा विकास र विस्तार गर्न हालै अध्ययन गरेको छ । सो अध्ययन प्रतिवेदन आगामी साता शिक्षा मन्त्रालयलाई बुझाउने कार्यक्रम छ । तर सो अध्ययन प्रतिवेदनमा ती तीनवटा निकायलाई राख्ने बारेमा कही कतै उल्लेख गरिएको छैन ।

केशरमहलको सामुन्ने राहदानी विभाग छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अहिले निकै सहज छ तर केशरमहलबाट ती निकायलाई सानोठिमी पुर्याइएपछि राहदानी लिने निकाय एक ठाँउमा, विदेशी दूतावासहरु अर्काे ठाँउमा र नो अब्जेक्सन लेटर लिने निकाय निकै टाढा हुने हुँदा असहज अवस्था सिर्जना हुनेछ । हाल दैनिक कम्तीमा दुइ सय विद्यार्थी सेवा प्राप्तिका लागि केशरमहलमा पुग्ने गरेका छन् ।

स्वप्न बगैँचा विकास समितिको अध्यक्ष शिक्षा सचिव रहने व्यवस्था छ । शिक्षा सचिव बैठकमा सहभागी हुन बेलाबखत स्वप्न बगैँचा पुगे पनि आफ्ना ती तीन निकाय कस्तो अवस्थामा छन्, कसरी सेवा प्रवाह गरिरहेका छन् भनेर बुझ्न हालसम्म कुनै पनि सचिवले त्यहाँ पाइला टेकेका छैनन् ।

 

A Levels MA
Thuprai - Books and E-books