मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’

मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै इपोर्टलमार्फत पठनपाठन जारी राखेको मन्टेस्वरी एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष सुष्मा सुब्बा लामाले बताउनुभयो ।

प्रत्यक्षरूपमा भर्चुअल कक्षा गर्दा विविध समस्या हुने भएकाले आफूले भने पाठ्यसामग्री तयार पारेर अनलाइन पोर्टलमा राख्ने र त्यसबाट पठनपाठन गर्न सकिने गरी नयाँ सफ्टवेयरको विकास गरिएको उहाँले बताउनुभयो ।

त्यसबाट विद्यार्थीले चाहेको बेलामा हेर्न सक्ने हुँदा अझै प्रभावकारी भएको छ । उपत्यकाको बेष्ट मन्टेश्वरी चेन अफ स्कूलले पहिलोपटक सफ्टवेयर नै बनाएर पठनपाठन थालेको छ । जूम, गुगल मिट, भाइबर, स्काइपमा कक्षा लिँदा इन्टरनेट ढिलो चल्ने, बिजुली नहुने, बोलेको प्रष्ट नहुने समस्या आउँछन् तर यसरी पठाएको सामग्री भने आफूले चाहेको बेलामा हेर्न सकिने तथा अभिभावकले समेत हेरेर पढाउन सकिने हुँदा बढी प्रभावकारी हुने मन्टेस्वरीका शिक्षकको भनाइ छ । साना बालबालिकाले आफैँ हेर्न नसक्ने हुँदा यो प्रविधि उपयोगी देखिएको छ ।

उक्त रुकूलले आफ्ना सम्पूर्ण शाखालगायतका फ्रेन्चाइस विद्यालयमा इ–पोर्टलमार्फत् पठनपाठनलाई निरन्तरता दिँदै आइरहेको छ । बन्दाबन्दीको समयबाटै त्यहाँ नर्सरीदेखि कक्षा ९ सम्मका विषयगत पाठ्यक्रम दैनिकरूपमा कक्षागत शिक्षकले आआफ्ना विषयका पाठ्यक्रमको भिडियो बनाई पोर्टलमा राख्छन् । त्यस पोर्टलमा गृहकार्यसमेत राख्ने गरिएको छ । विद्यार्थीले आफ्नो समयानुसार पाठ्यक्रमभित्र गएर भिडियो हेर्दै कक्षागतरूपमा ज्ञान लिनसक्ने उक्त मन्टेस्वरीका संस्थापक सञ्जय फिञ्जु लामाले बताउनुभयो ।

सोही प्रणालीबाट त्रैमासिक परीक्षासमेत लिइएको छ । “हामीले जुनप्रकारको दूरशिक्षा प्रणालीको शुरुआत गरेका छौँ, यसबाट अभिभावक तथा विद्यार्थीवर्गले लाभ लिइरहेका छन्”, उहाँले भन्नुभयो । लाजिम्पाट, पाटन, कुलेश्वर शाखाले समेत यही प्रविधि अपनाउँदै शिक्षा दिइरहेको छ । त्यस्तो पोर्टलमा अपलोड गरिएको सामग्री अभिभावले नै हेरेर सिकाउन सक्ने हुँदा पठनपाठन थप प्रभावकारी हुनेछ ।

हाल इपोर्टलमा पठनपाठन गर्दै आएको सो संस्थाले आफ्ना नानीलाई दूरशिक्षा प्रणालीमा निरन्तरता दिन चाहेमा भर्नासमेत खोलिएको उहाँले बताउनुभयो । प्रिस्कूल सञ्चालन गरेका अन्य मन्टेस्वरीमा उक्त प्रविधिको प्रयोग नभएकाले अब भने उनीहरुलाई समेत प्रेरित गर्न लागिएको छ ।

मन्टेस्वरी एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष तथा उक्त स्कूलकी प्रधानाध्यापक सुब्बाका अनुसार यही अवधिमा देशैभरि रहेका झण्डै ३०० जनालाई तीन महिने अनलाइनबाट निःशुल्क मन्टेस्वरी तालीमसमेत दिइएको छ । उनीहरुमार्फत अन्य मन्टेस्वरीले समेत उक्त प्रणाली अबलम्वन गर्नसक्ने छन् । मुलुकभर प्रिस्कूल सञ्चालन गर्ने मन्टेस्वरी एक हजारभन्दा माथि छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका बेला सरकारले औपचारिक पठनपाठनको अनुमति नदिएको अवस्थामा प्रविधिको प्रयोग गरी अन्य स्कूल क्याम्पसले पनि पठनपाठन सञ्चालन गर्दै आएका छन् ।

Thuprai - Books and E-books