A Levels MA

सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले ती प्रयोगशाला स्थापना गरिएका हुन । नगरपालिकाको शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार कालिका माध्यमिक विद्यालय असैना, सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहा, सरस्वती माध्यमिक विद्यालय अमरपुर र शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनिमा विज्ञान प्रयोगशाला स्थापना गरिएका छन् ।

“प्रयोगशाला स्थापना गर्न मन्त्रालयबाट उपलब्ध रु छ लाख ६० हजारका दरले रकम प्रयोगशाला स्थापनालाई छनोटमा परेका विद्यालयलाई उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “ उपलब्ध रकमबाट रु एक लाख ५० हजार प्रयोगशाला व्यवस्थापन र रु पाँच लाख रकमबाट विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको छ ।”

उपलब्ध गराइएको रकमबाट फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको उहाँले बताउनुभयो । विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनाका लागि उपलब्ध गराइएको रकम सदुपयोग भए नभएकोबारे अनुगमनको काम गरेको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो ।

विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने सिद्धबैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महराले बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी लाभान्वित हुने भएका छन् ।

विद्यालयमा प्रयोगशाला नहँुदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो । कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राघवप्रसाद अवस्थीले भन्नुभयो, “प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयको आन्तरिक आयस्रोतबाट खरिद गरिएका थोरै सामग्री पर्याप्त नहुँदा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी दिन सकिने अवस्था थिएन । हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।” उच्च गतिको इन्टरनेटसमेत जडान गरी विद्यालयलाई सूचना प्रविधिसँग जोडिएको उहाँले बताउनुभयो ।

यसैगरी, नगरपालिका–१० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय र वडा नं ७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा सूचना प्रविधिका लागि कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतको व्यवस्था गरिएको छ । वडा नं ८ को सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा पुस्तकालय स्थापना गरिएको छ ।

सिद्धनाथ माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय बन्साहामा रु सात लाखको लागतमा बाससहितको शौचालय निर्माण गरिएका छन् ।

Thuprai - Books and E-books