After SEE Portal

विद्यालयको सरसफाइका लागि  स्वयमसेवक परिचालन

Bridge Course

काठमाडौं महानगरपालिकाले विद्यालयको सरसफाइका लागि  स्वयमसेवक परिचालन गरेको छ । महानगरपालिकाले सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि सय जना स्वयमसेवक परिचालन गरेको हो ।

स्वयमसेवकलाई महानगरपालिकाले  ४ दिनको तालिम प्रदान गरी काममा खटाएको छ ।

स्वयमसेवकका लागि ४३७ जना आवेदक दिएका थिए । आवेदक मध्ये   २४७ जना सर्टलिष्टमा छानिएका थिए भने अन्तर्वार्ताबाट   छानिएका स्वयमसेवकहरुलाई विद्यालयका फोकल शिक्षकसंगै ६ महिनाका लागि काममा खटाएको छ ।

कार्यक्रममा महिला सहभागिता बढी रहेको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पाखरेलले, बताइन् । विद्यालयलाई कलात्मक र सुन्दर बनाउन हरियाली प्रवर्धन गर्नु यो कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिइन् ।

हरेक स्वयमसेवकले हप्ताको २ दिन (बिहीबार र शुक्रबार) विद्यालयका लागि समय उपलब्ध गराउनु पर्नेछ । वाबा समूहका फोकल शिक्षक र विद्यार्थीसंग सहकार्य गरेर सुन्दर विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु स्वयमसेवकको मुख्य जिम्मेवारी भएको उनले बताइन् । यसका लागि हरेक बिहीबार फोकल शिक्षकसँग बसेर शुक्रबार सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउनुपर्ने छ। कार्ययोजना अनुसारका कार्यक्रम शुक्रबार कार्यान्वयन गर्नुपर्छ । विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ गर्नुपर्छ । विद्यालयमा फोहोर वर्गीकरण अभ्यासलाई संस्थागत गर्ने काममा स्वयमसेवकको  योगदान हुने अपेक्षा गरिएको छ ।

बालबालिकाको नैसर्गिक अधिकारप्रति सचेत रहनुपर्छ । कोही पनि बालबालिकासँग एकान्तमा भेट्ने वा अनावश्यक कुराकानी गर्न नहुने,  विद्यार्थीका व्यक्तिगत गोपनीयताका विषयमा ख्याल गर्नुपर्ने, गुडटच र व्याडटच लगायत हिंसा हुन सक्ने कार्यमा सचेत हुनुपर्ने, विद्यालय सुहाउँदो पोसक र कक्षाकोठा सुहाउँदो व्यक्तित्व हुनुपर्ने लगायतका आचार संहिता महानगरले तय गरेको छ ।

‘बुक फ्री फ्राइडे’ र ‘शिक्षामा सिप’ कार्यक्रमका समूह

बुक फ्रि फ्राइडे कार्यक्रमलाई विद्यार्थीमैत्री बनाउन उनीहरुकै रुचिअनुसारका विषय र विषयसम्बद्ध १५ वटा उपसमूह बनाइएको छ । 

यी उपसमूहमध्ये बालबालिका तथा वातावरण, बिज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य छन् । यससँगै भित्ते चित्र लेखन (म्युरल आर्ट), संस्कृति र सम्पदा, ट्राफिक, विपद व्यवस्थापन, नाट्य, व्यक्तित्व विकास, पठन संस्कार, उद्यमशील सोच, योग, संगीत र नृत्य, ड्रोन, एनिमेसन र गेमिफिकेसन र कोड कोडिङ् उपसमूह छन् । यी उपसमूहमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई राखिएको छ । हरेक शुक्रबार कम्तीमा २ घण्टा उपसमूहका क्रियाकलाप हुनेछन् ।

कक्षा ९ र १० का विद्यार्थीका लागि ५६ वटा माध्यमिक विद्यालयमा १० उपसमूह छन् । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने ९परम्परागत० कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय हुन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाकाअनुसार, यी उपसमूहका हरेक कक्षा प्रत्येक शुक्रबार ६ घण्टा सञ्चालन हुन्छन् । पाठ्यपुस्तक बिना पाठ्यक्रमका विषयलाई पढाउने नभइ सिक्ने संस्कारको विकास गराउने यसको मुख्य उद्देश्य रहेको महानगरले जानकारी दियो ।

A Levels MA