प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा (७६) को उपधारा (१) बमोजिम पौडेललाई आज शिक्षा मन्त्रीमा नियुक्त गरेकी हुन् ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको हिजोको बैठकमा मन्त्रालय बाडँफाट गरिएसंग पौडेललाई शिक्षा मन्त्रीमा नियुक्त गरिएको हो ।सरकार गठन भएको ८८ दिन पछि प्रधनमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएसंगै शिक्षा मन्त्रालयले पनि नेतृत्व पाएको छ ।
नवनियुक्त शिक्षा मन्त्री पौडेल माओवादीका स्थायी सदस्य हुन्। २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट विजयी भएर प्रतिनिधि सभामा सदस्य भएका हुन् । सशस्त्र विद्रोहमा १० वर्ष धेरै भूमिगत भएका थिए । उनी २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए ।
केही समय उनी बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्दा नयाँ शक्तिमा आवद्ध भए । २०७४ सालमा उनी फेरि माओवादीमै फर्किएका हुन् । बाग्लुङको अमलाचौर, बड्डाडाँमा २०२१ साल पुस २८ गते पौडेलको जन्मे भएको हो । उनले २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर आफ्नो राजनैतिक यात्रा सुरु गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पौडेलले अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गर्दै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । तत्कालीन सरकारले उनलाई २०४२ सालमा १८ महिना धनगढी जेलमा बन्दी बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षमा सुरु देखि नै सामेल भएका थिए ।
शिक्षा राज्य मन्त्रीमा यादव
आज विस्तार गरिएको मन्त्रीमण्डलमा शिक्षा राज्यमन्त्रीको रुपमा धनुषाकी सांसद बोधमायाकुमारी यादवलाई नियुक्त गरिएको छ ।यादव माओवादी आन्दोलनका शहीद स्व.राम वृक्ष यादवकी छोरी हुन् । उनी शहीद परिवार र मधेसी कोटाको समानुपातिकबाट निर्वाचित सांसद् हुन् । २०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । जिल्ला तहका विभिन्न पदमा रहेर राजनीति गरेकी उनलाई २०७० सालमा एकीकृत माओवादीले पोलिटब्युरो सदस्य बनाएको हो ।
सशस्त्र विद्रोहको समयमा नेपालको शिक्षा प्रणालीलाई बर्जुआ शिक्षा पढ्नु हुँदैन भन्ने माओवादीले यस अघि पनि शिक्षा मन्त्रालय सम्हाली सकेको छ । सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका शिक्षकलाई अहिले सम्म पटक पटक मन्त्रालय सम्हाल्दा पनि स्थापित गर्न नसकेको माओवादीले कस्तो क्रान्तिकारी शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याउँछ भन्ने मन्त्री मण्डल पुनर्गठन भएसंग चर्चामा आएको छ ।