न्यून विद्यार्थी भएका विद्यालय खोल्न सहमति

एक सय जनासम्म विद्यार्थी भएका विद्यालय खोल्न दिनेमा सहमति जुटेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकमा सो सहमति जुटे पनि निर्णय भइसकेको छैन ।

बैठकमा सीसीएमसीका संयोजक बालानन्द शर्माले एक पक्षले परीक्षा रोक्न नहुने भन्दै कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्नुपर्दछ भनेर दवाव दिने गरेको र अर्का पक्षले परीक्षा गरेमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्ने भएकाले परीक्षा गर्नै हुन्न भन्ने गरेको बताउँदै भने, “यसको सही बाटो खोज्नुपर्ने भएको छ ।”

बैठकमा अधिकाँशको जोड नै परीक्षा सञ्चालन गरिए पनि तत्काल शिक्षण संस्था खोल्न नहुनेमा थियो । तर कम विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउन सहज हुने भएकाले त्यस्ता विद्यालयका हकमा छुट दिनुपर्ने सहमति जुटाइएको थियो ।

आज भएका छलफलका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरुप निर्णय लिने जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कम विद्यार्थी भएका विद्यालयका हकमा सोच्न सकिने भए पनि बढी विद्यार्थी भएका विद्यालयलाई तत्काल खुलाका लागि अनुमति दिन नसकिने सुझाव दिए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई खोप दिएरमात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखे ।

सो बैठकमा खोपलाई विद्यार्थीको पहुँचमा पु¥याउन अपनाउन गर्नुपर्ने कार्यका बारेमा पनि छलफल भएको थियो । शिक्षक सिकाइलाई नियमित गर्न सङ्घीय सरकारले मापदण्ड बनाइदिनुपर्ने पनि सुझाव दिइएका थिए । 

छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना, राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपाने लगायतले शिक्षण संस्था तत्काल खोल्न नसकिने धारणा व्यक्त गरेका थिए ।