काठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ ।
महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका लागि पाठ्यक्रम तयार गरिरहेको हो ।
सामुदायिक विद्यालयमा अभ्यास गरिएको बुक फ्री फ्राइडे कार्यक्रमका सञ्चालक काठमाडौं विश्वविद्यालय सहित अन्य साझेदार ५४ वटा संघसस्थाको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको महानगरपालिकाले जानकारी दियो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, गत मंसिर २६ गते विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो ।
सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा पाठ्यक्रम तयार भइरहेको महानगरपालिका प्रमुखको सचिवालयले जानकारी दियो ।
कार्याशाला
मस्यौदा पाठ्यक्रममा सरोकारवालाको पृष्ठपोषण लिनका लागि हालै एक कार्यशाला आयोजना गरिएको थियो । डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यशालामा शिक्षा अधिकृतहरु, स्रोत शिक्षक, प्रधानाध्यापक र विद्यार्थी क्लवका अध्यक्ष सहभागी थिए । साझेदारलाई १५ समूहमा विभाजन गरेर हरेक समूहले एउटा विधाको पाठ्यक्रममा पृष्ठपोषण दिएका थिए ।
‘एक वर्षमा २५ हप्ताका १ सय घण्टा पुस्तकरहित शुक्रबारअन्तर्गतका सिर्जनात्मक सिकाइ कक्षा हुनेछन् । २५ घण्टा परियोजना (प्रोजेक्ट) मा आधारित कक्षा हुनेछन् ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘कक्षा ४ मा भर्ना हुने विद्यार्थीले कक्षा ८ उत्तीर्ण हुने अवधिसम्ममा रचनात्मक सिकाइ अभ्यास गर्न पुस्तकरहित शुक्रबारअन्तर्गत आफ्नो रुचिका ५ वटा विषय छान्न पाउनेछन् ।’ सञ्चालित कार्यक्रमसहित आगामी योजनाका बारेमा जानकारी दिँदै झा भन्नुहुन्छ, ‘काठमाडौँ युनेस्को रचनात्मक सहरको चलचित्र विधामा सदस्य बनेको छ । यसकारण सिर्जनात्मक उद्योग र विद्यार्थीका रुचिसँग सम्बन्धित ५ वटा विधा थप गर्ने कार्यक्रम छ । स्काउट अभ्यासलाई यही कार्यक्रममा समावेश गरेर थप प्रभावकारी बनाउने योजना छ ।’
किताव तोकेर, हरफ घोकेर, पङ्ति पङ्तिमा अण्डरलाइन गरेर पढ्ने परम्परागत विधि छोड्नु पर्छ । सिकाइको उपलब्धि ग्रेडमा भन्दा सिपमा मापन गर्नुपर्छ । पाठ्यक्रम थोरै होस् । सिकाइका क्षेत्र धेरै हुनु पर्ने काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा बालचन्द्र लुइटेल बताए । उनले भने, ‘पाठ्यक्रम सिकाइलाई सहजीकरण गर्ने साधन हुनुपर्छ । दायरा निषेध गर्ने माध्यम हुनुहुँदैन । संसारको प्रकृति अस्थायी छ । हामीले स्थायी प्रकृतिको पाठ्यक्रम खोज्नु हुँदैन । सिकाइ कक्षा कोठामा सीमित गर्नु हुँदैन । समुदाय पनि सिकाइ स्थल हो । अर्काको परिवेश सिक्ने होइन । आफ्नो परिवेश बुझेर त्यसलाई अन्तरराष्ट्रिय परिवेश अनुकुल बनाउने विद्यार्थीमा क्षमता विकास गराउने सिकाइ हुनुपर्छ ।’
विश्वविद्यालयको स्टिम विभागका प्रमुख विनोदप्रसाद पन्तको अनुभवमा पाठ्यक्रम निर्माण गर्दा यति धेरै साझेदारका बिचमा छलफल भएको सम्भवतः यो नै पहिलो हो ।
महानगरपालिकाका शिक्षा अधिकृत एवं वुक फ्री फ्राइडे कार्यक्रमका फोकल पर्सन केशव ज्ञवालीका अनुसार पाठ्यक्रम तयार गरेपछि यसको कार्यान्वयन गर्ने कार्यविधि तर्जुमा गरिने छ ।
यी उपलब्धि हासिल गर्न महानगरपालिकाले तर्जुमा गर्ने पाठ्यक्रम अन्य पालिकाहरुलाई यस प्रकारका कार्यक्रम सञ्चालन गर्न आधार प्राप्त हुनेछ । सहज हुनेछ ।
बुक फ्री फ्राइडे कार्यक्रम
अघिल्लो शैक्षिक सत्र (२०८० साल) मा कक्षा ९ का विद्यार्थीहरुलाई शिक्षामा सिप कार्यक्रम अन्तर्गत नमूनाका रुपमा सुरु गरिएको बुक फ्री फ्राइडे कार्यक्रम अहिले कक्षा ४ देखि १२ सम्म सञ्चालन भइरहेको छ ।
बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् ।
समूह गठन
विद्यार्थीको रुचि, संख्या, विद्यालयको भौतिक सुविधाअनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएको शिक्षा विभागका प्रमुख गोविन्द प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हरेक उपसमूहका लागि एक जना फोकल शिक्षक तोकिएको छ ।
विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन् । एनिमेसन र गेमिफिकेसन, नाट्य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन् । यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो ।