पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले सझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान, विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा पोखरा विश्वविद्यालय र नाष्टबीच स्नातकोत्तर तह एवम् विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नास्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकहरूको पनि संलग्नता गराउने गरी सम्झौता भएको हो ।

सो सम्झौतमा समसामयिक विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ । समझदारी पत्रले दुवै  संस्थालाई  संयुक्त रूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दीगो शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ ।

समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा।डा। प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

पोखरा विश्वविद्यालयले १०० शैयाको शिक्षण अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउने भएको छ । शिक्षण अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्रावास भवनलाई परिमार्जन गर्ने सम्बन्धमा ठेक्का सम्झौता गरेको छ । करिब सात करोड पचास लाख रुपियाँमा सो शिक्षण स्पताल निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल निर्माणको कार्य सम्पन्न गर्नुपर्ने छ ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा दिपकबहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सूर्य नारायण बरालबीच औपचारिक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।

स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरिनेछ । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययनपछि ठेक्का सम्झौता भएको हो । 

Thuprai - Books and E-books