A Levels MA

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषदको वैठक सम्पन्न

आर्थिक वर्ष २०७७–०७८ को यथार्थ विकास,नियमित र आन्तरिक बजेट स्वीकृत, आगामी २०७८–७९ को प्रस्तावित विकास नियमित र आन्तरिक बजेट अनुमोदन गर्दै त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान व्यवस्थापन तथा विकास परिषद्को २४ औं बैठक सम्पन्न भएको छ।

सो बैठकले आर्थिक,शैक्षिक एवम् पूर्वाधारको क्षेत्रमा गुणस्तरीय स्तरोन्नति गर्ने विविध एजेण्डा पारित गर्दै सो बैठक सम्पन्न भएको हो ।

सो बैठकमा संस्थानले हालसम्म गरेको भौतिक,प्राज्ञिक एवम अनुसन्धानात्मक प्रगतिको बारेमा समिक्षा गरेको थियो । बैठकमा आगामी दिनमा संस्थानका सम्पूर्ण गतिविधि विस्तार गरी मुलुककै अब्बल कृषि शैक्षिक केन्द्रको रुपमा आफूलाई अघि वढाउने कार्यक्रम तय गर्दै बैठक समावन भएको परिषद्ले जानकारी दियो ।

 त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको प्रमुख आतिथ्य र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा भार्गव धितालको अध्यक्षतामा ललितपुरस्थित सिद्धार्थ कटेज,धोविघाटमा बैठक सम्पन्न भएको हो ।

 व्यवस्थापन तथा विकास परिषदमा संस्थानका आंगिक क्याम्पसका प्रमुखहरु,विभिन्न सरोकारवाला संस्थानका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारी गरी ३५ जना सदस्यहरु रहने व्यवस्था छ ।

सो बैठकलाई सम्बोधन गर्दै शिक्षाध्यक्ष प्राडा भुसालले त्रिविको गौरवमय संस्थाको रुपमा विश्वसनीय परिचय बनाउदै आइरहेको बताए उनले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए ।

संस्थानलाई अन्तराष्ट्रिय स्तरको शैक्षिक कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय अनुसन्धान गर्नुका साथै मुलुकमा कृषिक्षेत्रको गुणस्तर अभिवृद्धि गर्न प्राज्ञिक एवम् अनुसन्धानका गतिविधि सञ्चालन गर्ने कार्यमा नेपाल सरकारका विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि वढन सुझाव दिएका थिए ।

लामो समयदेखि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान आफ्नै क्याम्पसलाई विश्वविद्यालय बनाउने सरकारी निर्णयका कारण अस्थिरताको चरणबाट गुज्रिरहेको र पछिल्ला समयमा कतिपय व्यवस्थापकीय कमिकमजोरी देखिन आएको बताए ।

 शैक्षिक गुणस्तर अभिबृद्धि गरी आफ्ना कार्यक्रमहरुलाई थप प्रभावकारि र उपलब्धिमूलक बनाउन कुनैपनि प्रकारको सम्झौता नगरी अघि वढन समेत संस्थानलाई शिक्षाध्यक्ष भुसालले निर्देशन दिए ।

कार्यक्रममा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन तथा व्यवस्थापन तथा विकास परिषद्का अध्यक्ष प्रा।धितालले स्वागत मन्तव्य व्यक्त गर्दै ४१ बर्षदेखि संस्थानले मुलुकको कृषि तथा पशुविज्ञानको क्षेत्रमा नेतृत्वदायी योगदान गरिरहेको स्मरण गराएका थिए । उनले विविध राजनीतिक,आर्थिक एवम् प्रशासनिक प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्दै संस्थान प्राज्ञिक क्रियाशिलतामा निरन्तर अघि बढिरहेको धारणा राखेका थिए ।

 अहिले संस्थान अन्तर्गत ४ वटा आंगिक क्याम्पस र ४ वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा आएका छन् ।  प्रत्येक क्याम्पसमा सञ्चालित स्नातकतहमा २ सयका दरले र स्नातकोत्तर तहमा जम्मा ३९९ जना विद्यार्थी अध्ययनरत छन् । साथै १४ जना विद्यावारिधि तहमा अध्ययनरत छन् । दुई ओटा आंगिक क्याम्पस विश्वविद्यालय अनुदान अयोगवाट गुणस्तर प्रत्यायन प्राप्त गर्ने तयारी अवस्थामा रहेका छन् ।लमजुङ क्याम्पसमा प्राज्ञिक भवन निर्माण गरिएको छ भने झापाको वैगुन्धरामा रहेको धनकुटा क्याम्पसको स्वामित्वमा रहेको ८२ विघा जग्गा गौरादहकृषि क्याम्पसको प्रयोगका लागि उपलब्ध गराउने प्रक्रिया अघि वढेको छ । आन्तरिक श्रोत व्यवस्थापनका लागि दुईओटा आंगिक क्याम्पसमा कोटा थप गरिएको उनले जानकारी दिए ।

कार्यक्रमा नेपाल सरकार कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेल र नेपाल पशु चिकित्सा परिषद्का अधिकृत डा मनोजकुमार शाही लगायतले कृषि तथा पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत रहेको क्याम्पस र अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिको अवस्था अन्तर्राष्ट्रिय स्तरको नरहेको जानकारी दिए ।

सम्पूर्ण सरोकारवाला निकायसंग समन्वय गरेर भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा ध्यान दिन ध्यानाकर्षण गराएक थिए । कार्यक्रममा रामपुर कृषि क्याम्पसका क्याम्पस प्रमुख मिलन सुवेदी, त्रिवि भेटेनरी शिक्षण अस्पतालका प्रमुख डा शम्भु शाह, आर्थिक प्रशासन शाखाका प्रमुख पवित्रकुमार बस्नेत लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका सहकायक डीन तथा व्यवस्थापन तथा विकास परिषदका सदस्य सचिव डा किशोरचन्द्र दाहालले आव ०७९–८० को प्रस्तावित विकास, नियमित तथा आन्तरिक श्रोतको बजेट विवरण परिषद् समक्ष प्रस्तुत गरेका थिए ।

Thuprai - Books and E-books