Ranakalin Shiksha

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्नुहुन्थ्यो । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए ।

प्राथमिक शिक्षादेखि काठमाडौं अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै शैक्षिक क्षेत्रको विकासका लागि २०४६ सालमा महेन्द्रनगरमा आर्दश विद्या निकेतन सञ्चालन गर्नुभयो । “मलाई याद हुँदा धनगढीमा त्रिनगर मावि थियो । कञ्चनपुरमा त स्कूल नै थिएन”, पन्तले भन्नुभयो, “अहिले त घर आगँनमै चाहेको शिक्षा हासिल गर्नसक्ने अवस्था विद्यार्थीमाझ छ ।”

उहाँले महेन्द्रनगरमा बैजनाथ मावि र महेन्द्रनगर उच्च मावि सञ्चालनमा आएपछि शैक्षिक गतिविधि सञ्चालनमा आएको बताउनुभयो । “तीसको दशकमा यहाँ सिद्धनाथ विज्ञान क्याम्पस सञ्चालनमा आएपछि यहाँको चर्चा शैक्षिक जगत्मै भयो”, उहाँले भन्नुभयो, “अहिले त प्राविधिक शिक्षादेखि चाहेअनुसारको विषय पढ्ने वातावरण बनेको छ ।” अहिले कञ्चनपुरमा मात्रै २५० भन्दा बढी विद्यालय सञ्चालनमा छन् । सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गइरहेको उहाँको भनाइ छ ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन डा टेकराज पन्त यहाँको शिक्षा क्षेत्रमा भएको प्रगतिप्रति सन्तुष्ट हुनुहुन्छ । चालीसको दशकअघि यहाँ शैक्षिक क्षेत्रमा जनताको पहुँच कम भए पनि अहिलेको शैक्षिक विकास लाखौँ गुणाले अगाडि भइसकेको डा पन्तको भनाइ छ । “डडेल्धुरामा प्राथमिकस्तरको शिक्षापछि थप शिक्षा हासिल गर्न भारत जानु पर्यो”, उहाँले भन्नुभयो, “२०३३ सालमा बीएड गर्ने महेन्द्रनगरमा चार जना मात्रै थियौँ ।” लामो समय शैक्षिक विकास र अध्यापनमा खर्चेका पन्तले २०५७ सालमा यहाँको तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर तहको अध्ययनका लागि स्वीकृति मिलेको बताउनुभयो ।

“पहाडसँगै तराईका जिल्लामा पनि यहाँ शिक्षाको प्रबन्ध राम्रो थिएन”, उहाँले भन्नुभयो, “२०२४ मा पहिलो पटक कञ्चनपुरमा ‘बैजनाथ मावि’ माविस्तरको स्कुल थियो ।” उहाँले बैजनाथ मावि एक शिक्षक र एक विद्यार्थीबाट शुरु भएको जानकारी दिनुभयो । उहाँले सडक सञ्जाल विस्तार नहुनुका साथै भौगोलिक विकटताका कारण काठमाडौँ र भारत अध्ययनका लागि जान खर्चिलो र झन्झट हुने गरेको विगत सुनाउनुभयो । “अहिले त वडा वडामा स्कुल छन्”, उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा पनि स्थानीयस्तरमै अध्ययन गर्न पाउनु हर्षको कुरो हो ।” गरीब परिवारमा पनि शिक्षाप्रतिको प्रेमको वातावरण बनेको पन्तको भनाइ छ ।

उहाँले यहाँ प्राविधिक शिक्षा सञ्चालनमा रहे पनि दक्ष प्राध्यापकको अझै खाँचो रहेको बताउनुभयो । विसं २०६७ सालमा महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खुलेपछि शैक्षिक क्षेत्रको विकासमा थप टेवा पुगेको उहाँको भनाइ थियो ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लेखाअधिकृत अशोक भण्डारीले यसवर्ष तीन वटा विषयमा एमफिल र विद्यावारिधि कक्षा सञ्चालन भएको बताउनुभयो । दुवै तर्फ १२० विद्यार्थी भर्नासमेत भइसकेको विश्वविद्यालयले जनाएको छ ।

करीब १९ हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयसित १६ वटा क्याम्पस आङगिक क्याम्पसका रूपमा आबद्ध छन् । “यो वर्ष बिएएलएलबी र बिएसडब्लु विषयमासमेत कक्षा सञ्चालन भए”, भण्डारीले भन्नुभयो, “कोरोना कहरमा पनि हामीले अनलाइन कक्षा र अनलाइन विधिबाटै सम्पूर्ण परीक्षा समयममै सञ्चालन गर्न सफल भयौँ ।”

त्यसैगरी नेपाल विद्यार्थी सङ्घका नेता इन्द्र साउद यहाँको शैक्षिक विकासका निम्ति विद्यार्थी सङ्घ÷सङ्गठन पनि सहयोगी भूमिकामा रहनुपर्नेमा जोड दिनुहुन्छ । “विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागि रचनात्मक दबाब दिने हो”, नेता साउदले भन्नुभयो, “त्यही नाउँमा बन्द हड्ताल गरेर शैक्षिक वातावरण अब कसैले बिगार्नु हुन्न ।”