A Levels MA

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् ।

धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए ।।

यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । “पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ”, उनले भने,, “पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।” पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

 “कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छ”, उनले भने, “संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।”

गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताए ।

कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताउ  । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ ।

पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिए । अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ ।

कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ ।

कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए। पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उहाँको भनाइ थियो । दुई पालिकामा यसै वर्षबाट लागू हुने मुसिकोट नगरपालिकामा पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसै वर्ष कक्षा ५ सम्म लागू गर्ने आगामी वर्ष कक्षा ८ सम्म लागू गर्ने तयारी रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । साउनको अन्तिमसम्म विद्यालयको पहुँचमा पाठ्यक्रम पुगिसक्ने उहाँले बताए ।

सत्यवती गाउँपालिकामा पाठ्यक्रम बनेर पनि पाठ्यपुस्तक लेखनको काम हुँदैछ । पाठ्यक्रम लेखनको काम यही आर्थिक वर्षमै सकिने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

कूल रु १० लाखको लागतमा सत्यवतीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दैछ । पाठ्यक्रममा स्थानीय संस्कृति, स्थानीय सीप, कला, धर्म, भाषा, भूगोल अर्थात् समग्र पालिकाको परिचय समेटिएको छ । पुस्तक विद्यार्थीका लागि निःशुल्क प्रदान गर्ने योजना रहेको छ ।

Thuprai - Books and E-books