Bachelors Portal

साक्षरता दर सुस्त गतिमा

अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नेपाललाई नौ वर्षअघि नै पूर्ण साक्षर तुल्याइसक्नुपथ्र्याे तर अझै पनि झण्डै २३ प्रतिशत नागरिक निरक्षर छन् ।

नेपाल सरकारले सन् २००० मा थाइल्यान्डको जोम्पटेनमा सन् २०१५ सम्ममा साक्षर तुल्याउने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित सहमति गरेको थियो । २०६५ सालमा पनि दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर तुल्याइने योजना अगाडि बढाइएको थियो । 

५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशका ६४ जिल्लामात्र साक्षर घोषणा भएका छन् । जिल्लामा ९५ प्रतिशतसम्म साक्षर भएमा पूर्ण साक्षर भनी घोषणा गर्न पाउने व्यवस्था युनेस्कोले गरिदिएको छ ।

केन्द्रका अनुसार बागमती, गण्डकी र कोशी प्रदेश पूर्ण साक्षर प्रदेश घोषित भएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पाँच वर्षभन्दा माथिको उमेर समूहमा ७६.२ प्रतिशत साक्षर छन् । तिनमा पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् ।

त्यस्तै १५ देखि २४ उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।

नेपालमा पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० रहेको छ । पाँच वर्षभन्दा माथिको जनसङ्ख्या दुई करोड ६७ लाख २५ हजार २९५ रहेको छ ।

नेपालमा अनौपचारिक विद्यालय १७१ वटा सञ्चालित छन् र तीमध्ये ७७ वटाले अनुदान पाएका छन् । खुला शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालय १२१ छन् । तीमध्ये ३७ ले आधारभूत तह र ८५ ले माध्यमिक तहमा कक्षा सञ्चालन गर्ने गरेका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर हुन बाँकी छन् ।

ती दुई प्रदेशमा १५३ स्थानीय तहमा साक्षर घोषणा हुन बाँकी छ । मधेसका १३० र कर्णालीका २३ प्रदेशलाई साक्षर घोषणा गर्न बाँकी छ ।

कार्यक्रममा केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाले आगामी वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्दै आजीवन सिकाइका अवसर सुनिश्चित गरिनुपर्ने बताए ।

उनले अनौपचारिक तथा आजीवन सिकाइको राष्ट्रिय योजना तयार पारिने उल्लेख गर्दै अब डिजिटल सिकाइ सामग्री विकास गरिने बताए ।

५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस भदौ २३ गते ‘बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता’ नाराका साथ मनाइँदैछ ।

Thuprai - Books and E-books