After SEE Portal

बागमतीमा सिकाइ कार्यशाला सुरु

Bridge Course

जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ ।

तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित रहेर सुरु गरिएको कार्यशालामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा त्यसको प्रयोगबारे शिक्षण प्रशिक्षण दिइने छ ।

कार्यशालापछि शिक्षकहरूले किताबमा मात्रै आधारित नभई खेलाएर, नचाएर र हँसाएर सिकाउन सक्ने विश्वास लिइएको नगर शिक्षा शाखाले जनाएको छ ।

अब शिक्षकहरूले किताब घोकाएर मात्रै सिकाउन पर्दैन, खेलाएर, नचाएर, हँसाएर र विभिन्न शैक्षिक सामग्री देखाएर पनि सिकाउन सक्षम हुन्छन्, उनले भने ।

कार्यशालाको पहिलो दिन शिक्षकलाई कसरी खेल विधिबाट बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भनेर सिकाइने छ । जहाँ शिक्षकहरूले आफैँले खेलेर अनि प्रयोग गरेर महसुस गर्न सक्नेछन् । दोस्रो दिनदेखि विभिन्न विषयलाई भिन्न÷भिन्न शैक्षिक सामग्रीको प्रयोगबाट कसरी सिकाउन सकिन्छ र त्यस्ता शैक्षिक सामग्रीको निर्माणबारे पनि सिकाइने छ । कार्यशालाको पाँचौँ दिन भने शिक्षकहरूले आफूले निर्माण गरेका सामग्रीको प्रदर्शनी तथा सिकाइमा प्रयोगबारे प्रस्तुति दिने शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

“शिक्षकले बोल्ने अनि विद्यार्थीले सुन्ने मात्र गर्दा सिकाइ हुन नसक्ने कार्यशालाका सहजकर्ता अर्जुन भट्टले बताए । उनका अनुसार अब बोल्ने होइन, गरेर सिक्ने हो ।”

बालबालिकालाई हामी शिक्षकले सिकाउनेभन्दा पनि उनीहरू आफैँले सिक्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण निर्माणमात्रै गरिदिनुपर्ने कार्यशालाका सहजकर्ता भट्टले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिक्न नसक्नु, रमाउन नसक्नु, र निरन्तर अनुत्तीर्ण हुनुमा शिक्षण सिकाइ गतिविधि तथा शिक्षकहरूको कार्यक्षमता पनि उत्तिकै जिम्मेवार रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए ।

उनका अनुसार शिक्षकलाई शिक्षण सिकाइमा केन्द्रित गराउँदै सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित र रमाइलो बनाउन कार्यशाला महत्वपूर्ण हुने छ । आधारभूत तहका विद्यालयलाई आक्रमकरूपमा सुधारको अभियान सञ्चालन गरिरहेको नगरपालिकाले पहिलो चरणमा बालबालिका रमाएर सिक्ने वातावरण निर्माणमा जुटेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । उनका अनुसार यो कार्यशालाले शिक्षकलाई नयाँ जोश, जाँगर र ज्ञानका साथ काम गर्ने शक्ति प्रदान गर्ने छ ।

शिक्षकको पेसागत विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने हो भने रूपान्तरण शिक्षकबाटै सम्भव हुने बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले बताए । उनका अनुसार कोही पनि विद्यार्थी आफैँमा कमजोर हुँदैनन्, हरेक बालबालिका सिक्न चाहन्छन् र त्यसका लागि हरेक विद्यार्थीलाई सिकाइ गतिविधिमा सहभागी हुनसक्ने उपयुक्त वातावरण आवश्यक पर्दछ ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालय रहेका र ती सबैको शैक्षिक गतिविधि सुधारका लागि नगरपालिका तल्लीन भएर लागेको नगरप्रमुख भरतकुमार थापाले बताए । उनले नगरभित्रका शिक्षकले कार्यशालामा सिकेको सीप कक्षाकोठासम्म पुग्नुपर्नेमा जोड दिए ।

उक्त नगरपालिकाले यसअघि प्रधानाध्यापकका लागि तीनदिने नेतृत्व विकास कार्यशाला, सबै शिक्षकका लागि १० दिने आधारभूत आइसिटी तालिम, माध्यमिक तहका सबै शिक्षकका लागि दुईदिने स्तरीकृत प्रश्न निर्माण कार्यशाला आयोजना गरिसकेको छ ।

A Levels MA