जुडो विद्यालयमा शिक्षक अभाव

– चन्द्रकला भण्डारी भद्रपुर, ४ पुस (रासस)ः खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । 

पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना भएको उक्त विद्यालयमा बालकक्षादेखि कक्षा ४ सम्म पढाइ हुँदै आएको छ । 

आदिवासी जनजाति समुदायका १०९ विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमा हाल एउटा शिक्षकको मात्र दरबन्दी छ । विद्यार्थी धेरै भएपछि निजी स्रोतबाट एउटा शिक्षक थपिएको विद्यालयका संस्थापक खड्काले जानकारी दिनुभयो । आदिवासी समुदायको बाहुल्य रहेको क्षेत्रमा रहेको सो विद्यालयमा सन्थाल समुदायका ५६, जनजातिका ४० र अन्य १३ गरी १०९ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसित आठ कठ्ठा ऐलानी जग्गा छ । कर्कटपाताको छाप्रोमा पठनपाठन गरिँदै आएको छ । स्थानीयवासीको श्रमदान र तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण गरिएको छ । 

निर्माण गर्दै गरेको अर्को भवन आर्थिक अभावमा अलपत्र छ । शिक्षक अभावले धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको प्रधानाध्यापक गोपालप्रसाद गणेशले बताउनुभयो । कक्षा १ र २ का विद्यार्थीलाई एउटै ठाउँमा तथा कक्षा ३ र ४ कालाई अर्को कोठामा राखेर एउटै शिक्षकले पढाउनुपरेको गणेशले जानकारी दिनुभयो । “विद्यार्थीको पढाइमा असर परेको छ,” उहाँले भन्नुभयो । 

जिल्लामा जुडो खेलको विस्तार त्यही गाउँबाट भएको जिल्ला जुडो सङ्घका अध्यक्ष डा पृथ्वीविक्रम राई बताउनुहुन्छ । विद्यालयमा जुडोसम्बन्धी कक्षा सञ्चालन गर्न उहाँले माग गर्नुभयो । विद्यालयका संस्थापक गङ्गा खड्काले जिल्लाबाट पहिलोपल्ट जुडो खेल खेल्नुभएको थियो । हाल खड्का परिवारमा तीन जुडोका राष्ट्रिय खेलाडी एवं प्रशिक्षक छन् । प्रअ गणेशले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापासँग थप शिक्षक दरबन्दीको लागि माग गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । 

जुडो खेलको नामबाट स्कूलको नामाकरण गर्नुका पछाडि त्यहाँ जुडो खेललाई विषय बनाएर विद्यार्थीलाई पढाउने र सिकाउने उद्देश्य भएको संस्थापकसमेत रहेका नेपाल राष्ट्रिय जुडो सङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षक खड्का बताउनुहुन्छ । आर्थिक स्रोतको अभावमा विद्यालयमा जुडो विषयमा पठनपाठन गर्न सकिएको छैन । वडा नं २ को सहयोगमा विद्यालयको मैदानमा स्थानीयसँगै विद्यार्थीलाई नियमित रूपमा जुडो सिकाउने गरिएको छ । झापा गाउँपालिका–२ का वडाध्यक्ष नेत्र खड्काले जुडो खेलको पढाइलाई अघि बढाउनका लागि पहल गर्ने बताउनुभयो । गाउँपालिकाले यस वर्ष वडामा जुडो प्रशिक्षणका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । 

Thuprai - Books and E-books