केएमसी क्युएए प्रमाणित कलेज घोषित

काठमाडौँ मोडल कलेज (केएमसी) लाई विश्वविद्यालय अनुदान आयोगले  गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)  प्रदान गरेको छ ।

अटोनमस कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी आर्कषण गर्नेका लागि आवासीय सुविधा सहित उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने र मानित विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको कलेजलाई आज एक कार्यक्रमका विच क्युएए प्रदान गरेको हो ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रवर्धन र वकालत गर्दै र त्यस अनुरुप आफ्ना शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको केएमसी क्युएएबाट प्रमाणित हुने एक प्रतिशत भन्दा कम कलेज भित्र पर्न सफल भएको हो ।

क्युएएले नीति तथा योजनाको प्रावधान तथा कार्यान्वयन, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रभावकारिता, गुणस्तरीय शिक्षण सिकाइ, उचित मूल्याङ्कन तथा कर्मचारीको क्षमता विकास, अनुसन्धान प्रवर्धन तथा सामुदायिक रुपमान्तरणका गतिविधिहरू सञ्चालन, पर्याप्त पूर्वाधार र सिकाइ स्रतहरूको उपलब्धता, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवर्द्धन, संचार तथा प्रविधिको विकास, सूचना प्रवाह मार्फत सरोकारवालाप्रति जवाफदेहिता जस्ता महत्वपूर्ण पाटोहरूमा शैक्षिक संस्थाको खास अवस्था मूल्याङ्कन गरि प्रमाणित गर्ने  गरेको छ । 

आयोगले तोकेका सबै मापदण्डहरू पुरा गरी केएमसीलाई  आयोगद्धारा क्युएए प्रदान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मूल्याङ्कनपछि आयोगले केएमसी लाई क्युएए प्रमाणित भएको घोषणा गरेको हो ।

सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा गुणस्तर सुनिश्चित गर्न असफल हुने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने प्रावधान उल्लेख गरेको छ । विसं २०६४ सालबाट विश्वविद्यालय अनुदान आयोग मार्फत औपचारिक रुपमा विश्वविद्यालय तथा कलेजहरुलाई क्युएए प्रमाणित गर्न सुरु गरेको हो ।

यो प्रमाणीकरणसंगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति सहितका विशेष अवसर पाउनेछन् । यो सफलतासंगै सबैको साथ र सहयोगमा निकट भविष्यमा केएमसीलाई विश्वस्तरको उत्कृष्ट कलेजका रुपमा परिचित गराई समग्र मुलुकलाई नै गौरवान्वित बनाउने गरी अघि बढ्न थप उर्जा मिलेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आज सिर्जना कलेज अफ फाइन आर्टस्लाई  पनि क्युएए प्रमाणित गरेको छ ।

Thuprai - Books and E-books