एमबिबिएस अनुमतिका लागि सरकारको बाटो हेर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विषयको स्नातक तहको अध्यापनका लागि अनुमतिको पर्खाइमा बसेको छ । भौतिक पूर्वाधार, पाठ्यक्रम तथा मानव संसाधनको आवश्यक व्यवस्थापन गरेर प्रतिष्ठान अध्यापनका लागि अनुमतिको पर्खाइमा बसेको हो ।

प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति भने दिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पुरा गरिसकेको जानकारी दियो । “प्रतिष्ठान एमबिबिएस तहको पठनपाठन गर्न अनुमतिको प्रतिक्षामा छ । ” प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेले भने, “दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् । ”

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले रु ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पुर्याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीले बताए ।

Thuprai - Books and E-books