After SEE Portal

८५ करोड रुपियाँ ऋण लिएर जनक शिक्षाले समयमै पुस्तक छाप्यो

Bridge Course

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक लगानी कोषबाट १० करोड गरी ८५ करोड रुपियाँ ऋण लिएर विद्यालय तहको यो वर्षका लागि पुस्तक छपाई गरेको बताएको छ । पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले  आज  गरेको केन्द्रको अनुगमनमा यस्तो जानकारी दिएको हो । केन्द्रले पुस्तक बिक्री वितरण गरेसँगै ४० करोड रुपियाँ ऋण चुक्ता समेत गरिसकेको जानकारी दियो ।

उनले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पुर्‍याउन सफल भएको बताए ।

उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको केन्द्रका प्रबन्धक अनिलकुमार झाले बताए ।

अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए ।

उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरे । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिहरेको जानकारी दिए ।

उनले गत चैत २४ गतेदेखि नै  पाठ्यपुस्तक बिक्री वितरण  गरेको जानकारी दिँदै हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याइ विद्यार्थीहरूलाई वितरण गरेको  जानकारी दिए । ‘अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ताछ ।’ उनले भने, ‘कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा छ, बिक्री वितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरू ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्छन् ।’

उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको हुँदा  हिमाली जिल्लाहरूका सबै विद्यालयमा पुस्तक पुगिसकेको दाबी गरे ।

दुर्गम हिमाली जिल्लाहरू हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरूमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए ।

उनले भने,‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं । पुस्तक छपाइको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण सुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्री वितरण सम्पन्न गरिसकेका छौं । कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ ।’

 केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०, प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगन्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्री वितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरूमा पुस्तक पुग्न बाँकी रहेको छ ।

सोलुखुम्बु, धनकुटा,मोरङ, सुनसरी, झापा, सिराहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेका छ । सामग्री केन्द्रका अनुसार बिक्री वितरण हुन बाँकी जिल्लाहरूका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिक सत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुर्‍याउने गरी  काम गरिरहेको छ ।

A Levels MA