जनक शिक्षालाई भ्रष्टाचारको आरोप

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले  पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने गरेको आरोप लगाएका छन् ।

उनीहरूले कागज बोकेको १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको समेत बताएका छन् । गत पुस २७ गते करिब एक लाख ५३ हजार केजी कागज भएका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले घटना भएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएको बताउनुभयो । उजुरी दिएको आठ दिन बितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको उहाँको भनाइ छ ।

पत्रकार कुश्लव केसीले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागे पनि यसमा लाखौँ बालबालिकाको भविष्य जोडिएकाले आफूहरूले उक्त विषय सार्वजनिक गर्न बाध्य भएको जिकीर गरे ।

पाठ्यपुस्तक आएनः विद्यालय

शैक्षिक सत्र सकिन लाग्दा पनि  कर्णलीका दुर्गम विद्यालयमा पाठ्यपुस्तक  पुगेका छैनन् । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको अभिभावकको गुनोसो छ।

हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–३ मा रहेको विद्याज्योति माविमा कक्षा ८ को नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका–३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन।

कालिकोटको अन्य पालिकाका विद्यालयमा पनि पुस्तक अभावै रहेको गुनासो आउने गरेको छ। कर्णालीमा पाठ्यपुस्तक पुग्न जहिल्यै समय लाग्ने गरेको शिक्षकहरू बताउँछन्।

गत वर्ष पनि कागजकै अभावका कारण पर्याप्त पुस्तक छपाउन नसके पछि कर्णाली प्रदेशका १० जिल्ला सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुम, कालिकोट, दैलेख, जुम्ला, मुगु, हुम्ला र डोल्पाका कक्षा ६ र ८ का विद्यार्थीले किताब  नपाएको पुस्तक व्यवसायी संघ कर्णाली प्रदेशले जानकारी दियो ।

पुस्तक पठाइसक्यो: केन्द्र

केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाइ गरिसकेको जनाएको छ । केन्द्रले  आज सूचना जारी गर्दै पाठ्यपुस्तकहरू अझै पनि विद्यार्थीहरूले नपाएको भन्ने सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचार प्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

केन्द्रले शैक्षिक सत्र २०७९ का लागि आवश्यक कक्षा १० सम्मका पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित कार्यालय मार्फत विद्यालयहरूमा पठाइसकिएको  उक्त सूचनामा उल्लेख गरेको छ।

‘कथम्कदाचित विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको भएमा तुरुन्त केन्द्र तथा केन्द्रका प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।’ सूचनामा भनिएको छ, ‘कक्षा ११ र कक्षा १२ का पुस्तकहरू अभाव भएको सम्बन्धमा गुनासो प्राप्त भएको हुँदा उक्त कक्षाका पुस्तकहरू पनि केन्द्र तथा प्रादेशिक कार्यालयमा मौज्दात रहेको हुँदा बिक्रेता तथा विद्यार्थीहरूले सम्पर्क राखी पुस्तक खरिद गर्नुहुन अनुरोध गर्दछौं,  पाठ्यपुस्तक सम्बन्धमा जानकारी आवश्यक भएमा केन्द्र तथा प्रादेशिक कार्यालय प्रमुखहरूसँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’

 

Thuprai - Books and E-books