After SEE Portal

आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन नेविसंघको माग नत्र पदाधिकारीको हिसाब गर्ने चेतावनी

Bridge Course

नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बढाएको  बीई र बीआर्कको शुल्क  फिर्ता लिन माग गरेको छ ।

स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा वृद्धि गरेको शुल्क  तत्काल फिर्ता नलिन पदाधिकारी र त्रिविको हिसाब गर्ने संघले चेतावनी समेत दिएको छ ।

 आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिवि र आईओई पछाडि हट्नुपर्ने माग गरेको हो । 

गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढि रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए । नेपालमा इन्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जव सेक्युरेटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरु विदेशिने गरेको उनको भनाई छ ।

‘सबैभन्दा नेपालको बेस्ट माइन्ड आईओई भनेर हामी मान्छौं । अनस्किल लेवर खाडीमा पठाएर हामीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्सलाई हामीले मान्ने गर्छौ । तर, आज त्यो रेमिट्यन्सभन्दा बढी खर्बौ रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न बाध्य छन्,’– उनले भने ।

उनले देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका कारण नेपालमा बस्ने अवस्था नरहेको बताए । अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आईओईका पदाधिकारीहरुले संस्थासँग पैसा छैन भन्ने गरेपनि मिटिङ र सेमिनार भने तारे होटलहरुमा आयोजना गर्ने गरेको आरोप लगाए ।

आफ्नै कलेजभित्र रहेको हलको व्यवस्थापन, पाठ्यक्रम, ल्याब आदिका विषयमा आईओई र त्रिविका पदाधिकारीहरुले अहिले पनि छलफल गर्न नचाहेको उनले बताए । चर्को शुल्क वृद्धि गरेर त्रिविका भिसी र रजिस्टार र आईओईका पदाधिकारीहरु विदेश घुम्न जान लागेको भन्दै उनले शुल्क वृद्धिको मुद्दा नसुल्झाई ती पदाधिकारीलाई नेविसंघले विदेश भ्रमणमा जान नदिने बताए ।

‘इन्जिनियरिङ अध्ययन संस्थानमा दुई सय ७० प्रतिशतभन्दा बढि शुल्क वृद्धि गर्ने र त्रिभुवन विश्वविद्यालयका भिसी र रजिष्टार चाइना घुम्न जाने ? मैले खबर पाइरहेको छु, आईओईका डिन पनि भोलि र पर्सीमा विदेश भ्रमणमा जाँदैछन् भनेर ।’ उनले भने, ‘नेपाल विद्यार्थी संघ केन्दीय कार्यसमिति यही मञ्चबाट चेतावनी दिन चाहन्छ, चर्को शुल्क वृद्धि फिर्ता नगरेसम्म त्रिभुवन विश्वविद्यालयका सम्बन्धित पदाधिकारी, डिन, सहायक डिनहरु कुनै पनि देशमा भ्रमण गर्न पाउनुहुन्न ।’

अध्यक्ष शेर्पाले शुल्क वृद्धि फिर्ताको माग गर्दै हिजोबाट आमरण अनशन सुरु गरेका नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

उनले तीन दिनभित्र शूल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । ‘आईओई र त्रिभुवन विश्वविद्यालयले यो चर्को शुल्क वृद्धि फिर्ता गरेन भने आईओई र त्रिविका पदाधिकारीलाई हामी हिसाब गर्छौं,’– उनले भने ।

शुल्क वृद्धि तीन दिनभित्र नटुंगिएको खण्डमा नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको प्राङ्गनमा गएर शुल्कवृद्धिको आन्दोलन टुंग्याउने उनको चेतावनी छ । ‘हामी तीन दिनसम्म देशभरीका कजेज, नागरिक समाजसँग आईओईको चर्को शुल्क वृद्धिको विरुद्धमा सोलिडारिटीको अभियान चलाउँछौं ।’ उनले भने, ‘तीन दिनभित्र पनि शुल्क वृद्धि फिर्ता भएन भने नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको यो लडाई हामी सिधै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बालुवाटारको प्राङ्गनमा गएर यो कार्यक्रम टुंगिनेछ ।’

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.÷बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदै नेविसंघले यसका लागि प्राविधिक, व्यावहारिक र जीवन उपयोगी शिक्षालाई समय सापेक्ष रूपमा परिवर्तन गर्न आवश्यक रहेको बताएको छ ।

थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले देश विकासको कर्णधार प्रविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी भएको बताए । उनले प्रविधिक शिक्षाको विकासका लागि सरकारले दायित्व लिएर अगाडि बढ्नुपर्ने ठाउँमा उल्टै पढ्नै नसक्ने गरी शुल्क बढाइएको भन्दै आपत्ति जनाए । शाहीले शुल्क वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन अगाडि बढाइरहन नेविसंघसँग आग्रह गरे ।

शुल्क वृद्धिको मुद्दा सम्बोधन नहुँदासम्म इन्जिनियरिङ अध्ययन संस्थान र त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधिकारी आफ्नो कार्यालयमा नियमित उपस्थित भएर समस्याको समाधान गर्न उनको आग्रह गरे ।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको ठहर रहेछ । इन्जिनियरिङ अध्ययन संस्थानमा पर्याप्त लगानी र अनुदानको व्यवस्था गरेर इन्जिनियरिङ शिक्षाका क्षेत्रमा रहेका समस्या समाधानका लागि पनि नेविसंघले सरकारसँग माग गरेको छ ।

पुल्चोक इन्जिनियरिक क्याम्पसको पूर्व इकाई अध्यक्ष एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बबिन बस्नेतले अहिलेको पढाइको मोडालिटी नै परिवर्तन गर्न आवश्यक रहेको बताए ।

शिक्षकले कक्षामा आएर एकोहोरो पढाउने र विद्यार्थीहरुको जिज्ञासाहरुको सम्बोधन नै नहुने उनले बताए । उनले देशले खोजेको स्किल मेनपावर यो सिस्टमबाट ननिस्कने बताए । इन्जियरिङमा स्नातक अध्ययन गरेका विद्यार्थीहरुले इन्टर्नसीपको अवसर नपाउँदा धेरै जना अध्ययनपछि विदेशिन परेको उनले बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानको उच्च पदमा रहेको व्यक्तिहरुको लगानी नीजि कलेजमा रहेको उनको आरोप छ । उनले शुल्क बढाउने कुरा कुनै पनि हिसाबले औचित्यपूर्ण नरहेको बताए । शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ पढाइ हुने क्याम्पसहरुमा देशव्यापी रुपमा आन्दोलन भइरहेको उनले बताए । शुल्क वृद्धिको निर्णयबाट इन्जिनियरिक अध्ययन संस्थापन पछि नहटे आन्दोलनको आधिँबेहरी आउने उनको चेतावनी छ ।

नेविसंघले इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई दक्ष जनशक्तिको उत्पादनमा जोड दिएर स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु आजको मुख्य आवश्यकता रहेको बताउँदैे शुल्कवृद्धिको निर्णय तत्काल सच्याउन माग गरेको छ ।

साथै, इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्बन्धित शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूले शुल्क वृद्धिका सन्दर्भमा सुरु गरेको आन्दोलनमा नेविसंघको ऐक्यवद्धता रहेको समेत बताइएको छ ।

नेविसंघकी केन्द्रिय सदस्य प्रेमिका रानामगरले अहिले पनि विद्यार्थीहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षा पाउनु पर्छ भनेर आन्दोलन गर्न परेको भन्दे दुःख व्यक्त गरिन् । आन्दोलन गर्नुपर्ने वातावरण स्वयम सरकारले नै निर्माण गरेको उनको भनाई छ ।

आईओईले कसैसँग पनि समन्वय र छलफल नै नगरी मूल्य वृद्धि गरिएको बताईन् । मूल्य वृद्धिको विरोधमा आमरण अनशन बसेका नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष चापागाईलाई तलमाथि भएको खण्डमा टुलुटुलु हेरेर नबस्ने उनको चेतावनी छ । मूल्य वृद्धि तत्तकाल फिर्ता नभए उक्त  मुद्दामा प्रधानमन्त्रीको कार्यालय घेराउका लागि पनि तयार रहेको उनले बताईन् ।

साथै, नेविसंघले नर्सिङ पठनपाठनका लागि मापदण्ड पूरा गरेका प्रादेशिक जिल्ला अस्पतालसँग समन्वय गरी सस्तो शुल्कमा नर्सिङ, फार्मेसी र एचए कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेर सिटिइभिटीमा भइरको आन्दोलनमा समेत ऐक्यबद्धता जनाएको छ । विद्यार्थीहरूको जायज माग सम्बोधन नभए नेविसंघ केन्द्रीय समिति आन्दोलित हुने र थप आन्दोलनका कार्यक्रम समेत घोषणा गर्ने बताइएको छ ।

नेविसंघका केन्द्रीय सदस्य धर्म शाहीले सरोकारवाला निकायहरुसँग कुनै पनि प्रकारको समन्वय नगरी चर्को रुपमा शुल्क बढाइएको बताए । विद्यार्थीका हक हितका विरुद्धमा हुने मनोमानी निर्णयमा नेविसंघले सशक्त भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

A Levels MA
Thuprai - Books and E-books