होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौं

त्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको प्रकोप केही कम मात्र भएको पुरै नियन्त्रणमा आइनसकेको अवस्थामा त्रिवि परीक्षा नियन्त्रण कार्यालयले कसरी परीक्षा सञ्चालन गरिरहेको छ ? पनिकाको आगामी रणनीति के कस्तो हुन्छ भन्ने विषयमा इडियुसञ्जालले सञ्चालन गरेको इडियुटकको विशेष १०० औं श्रृखलामा परीक्षा नियन्त्रक पुष्पराज जोशीसंग गरेको कुराकानीको सारसंक्षपः

दिन चर्या कसरी बिताउँदै हुनुहुन्छ ?

अहिले दैनिक १६ घण्टा अफिसमा बिताउने गरेको छु । तत्काल २ लाख ७० हजार परीक्षार्थीको परीक्षाको तयारीमा जुटेका छौं । दोस्रो वर्षका भोलिबाट र पहिलो वर्षको १० गते देखि परीक्षा हुँदैछ । करिब २ लाख ५० हजार प्रथम वर्षका र ३०–३५ हजार दोस्रो वर्षका विद्यार्थी छन् । करिब १९ महिना पछि हामी परीक्षाको तयारीमा जुटेका छौं । गत वर्षको भदौमा हुनुपर्ने परीक्षा अब गर्दौ छौं । गत वर्ष चैत्रबाट गरिएको लकडाउनका कारण परीक्षा गर्न सकिएन । हामी क्रमशः चौँथो, तेस्रो, दोस्रो र पहिलो वर्षको परीक्षा लिने गर्छौं । चौँथो वर्षको वैशाख, तेस्रोको जेठमा, दोस्रोको जेठ–असार र पहिलो वर्षको भदौमा परीक्षा लिने गथ्र्यौं । कोरोनाका कारण त्यो हुन सकेन । गत वर्ष चौँथो वर्षको परीक्षा वैशाख १६ गतेबाट, निर्धारण गरेका थियौं । साउनमा तयारी गर्यौ पुनः लकडाउन भयो । मंसिरमा चौँथो वर्षको परीक्षा गरेर तेस्रो वर्षको लियौं । दोस्रो वर्षका विद्यार्थीले पढाइ नभएको भनेपछि एक महिना रोक्यौं । त्यसरी पहिलो वर्षको परीक्षा रोकियो । यसरी एउटै कक्षामा १९ महिनासम्म विद्यार्थी पढ्न बाध्य भए । आजदेखि विद्यार्थीलाई जो जहाँ छ त्यहीबाट परीक्षा दिन केन्द्राध्यक्षसंग सम्पर्क राखेर परीक्षा दिन आव्हान गरी परीक्षा लिन थालेका छौं ।

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्दा कस्तो प्रक्रिया अपनाइएको छ ?

सेमेस्टरको हकमा थोरै विद्यार्थीको केसमा फेसटुफेस बाहेकका वैकल्पिक विधिबाट परीक्षा लिने रणनीति बनाएका छौं । प्रथम वर्षको परीक्षा आवेदन फारम अनलाइनबाट चैत्र ३० गतेदेखि वैशाख १६ गते सम्म मिति राखेर खोल्यौं । केही समय स्थगित गरेपछि जेठ ९ गतेदेखि घरैबाट अनलाइनबाट फारम भर्न सूचना जारी गर्यौ । जेठ महिनामा ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फराम भर्न सकेनन् । त्यसपछि क्याम्पस प्रमुखसंग जुनसुकै माध्यमबाट पुगेर आवेदन फारम भर्न लगाउँदा पनि पाँचसात हजार विद्यार्थी छुटेका छन् । फारम भर्ने क्रम नै आश लाग्दो देखिएन । अनलाइन कक्षामा विद्यार्थीको पहुँच छैन । अधिकांश विद्यार्थीले फोनको पहुँचमा नभएको प्रतिक्रिया दिए । ३० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन सकेका छन्, अन्य छुटेका छन् । वार्षिक परीक्षा प्रणालीको पेडागोजी फरक छ । रुकुमका विद्यार्थीले सदरमुकाम गएर परीक्षा दिनु र काठमाडौं आउनु उस्तै भएको, बझाङमा एउटामात्र क्याम्पस रहेको हुँदा यस्ता ठाउँमा केही समस्या भएपनि २०–२५ मिनेट हिडेर परीक्षा दिन तयार भएको प्रतिक्रिया दिएपछि भौतिक रुपमा परीक्षा सञ्चालन गर्न थालेका हौं । सेमेष्टर प्रणालीमा जस्तो छैन । विकल्पको खोजी गर्दा प्रश्नको संख्या घटाउने पनि मोडेल पनि अघि सार्यौं । विद्यार्थीले नै हामीले कोरोना ब्याच बन्न चाहँदैनौं पूर्ण पूणाङ्कको परीक्षा दिन्छौं भन्ने प्रतिक्रिया दिएपछि हामीले भौतिक रुपमा सावधानी अपनाएर परीक्षा लिएका हौं । हाम्रा क्याम्पस ११२५ वटा छन् । परीक्षा केन्द्र २२० मात्र होइन अझै धेरै बढाएर ४०० सम्म पुर्याउँछौं भनेर सीसीएमसी संग परामर्श गरी परीक्षा निर्धारण गरेका हौं । परीक्षा हलमा छिर्दा विद्यार्थीको तापक्रम नापेर र सेनिटाइजर गराएर सुरक्षित तरिकाले छिर्छन् । आवश्यक सावधानी अपनाएर परीक्षामा विद्यार्थी बस्नु पर्छ ।

अहिले परीक्षा भौतिक रुपमा लिन थालेको भनेर विवाद आएको छ नि ?

सरकारले निषेधाज्ञा जारी गरेको छ । तर मान्छे खुला गर्छस् भने गर नत्र विद्रोह गर्छौं भन्ने दवाव दिन थालेका छन् । सिटी एरियाम यातायात चलेका छन् । टेम्फो चलेको छ । तराईका केही ठाउँमा मास्क लगाउन छाडिसकेका छन् । धेरै विद्यार्थी भएका ठाउँमा हजारको संख्यामा विद्यार्थी होलान् । नियमित परीक्षार्थी र आंशिक गरी एउटा केन्द्रमा ६०० विद्यार्थी तोकिए पनि सबै विद्यार्थीले परीक्षा दिँदैनन् । सबै जिल्लामा अनुगमन गरी १५ मिनेट सम्म हिड्ने गरी केन्द्र तोकेका छौं । केन्द्र परिवर्तन गर्दा नतिजा प्रकाशनमा करिब १५ देखि ३० दिन ढिलाइ हुन्छ । तर यसलाई हामी समाधान गर्छौं ।

अन्य विश्वविद्यालय जस्तो वैकल्पिक प्रणालीबाट परीक्षा लिन सकिँदैन थियो र ?

उच्च शिक्षामा त्रिविले ८२ प्रतिशत धानेको छ । अरु विश्वविद्यालयले गत वर्षदेखि नै अनलाइनबाट परीक्षा लिएका छन् । अन्य विश्वविद्यालयमा विद्यार्थी संख्या कम छ । सबै सेमेस्टर प्रणालीमा गएका छन् । सेमेस्टरमा शिक्षकबाटै मूल्यांकन गर्ने हो । केही विश्वविद्यालयले अनलाइनबाट लिएको परीक्षाको नतिजा अहिलेसम्म प्रकाशन गर्न सकेका छैनन् । सबै विद्यार्थी मोरदेन एक्सलेन्ट छन् । सबैको जीपीए चारमा चार नै आएको छ । त्यसैले उहाँहरुलाई पनि गाह्रो छ । हामीले सेमेस्टरमा गत वर्षदेखि नै अनलाइनबाट परीक्षा चलाएका छौं । वार्षिक परीक्षा प्रणालीमा प्रक्रिया फरक छ । रजिष्ट्रेसन नभएका विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराएका छौं । अबका केही वर्षमा हामी पनि अनलाइनमा जान्छौं । 

त्रिविका सबै क्याम्पसमा होम सेन्टर दिइन्छ ?

आंगिक ६२ वटा सम्बन्धन प्राप्त ११२५ क्याम्पस छन् । बाध्यतावश दिनै पर्ने भए मात्र होम सेन्टर दिने छौं । परीक्षाको वैद्यता, विश्वसनीयता कायम गर्न यस्तो गर्दैनौं । हेलचक्र्याई गर्ने होम सेन्टरलाई कारबाही पनि गरेका छौं । आफ्नै होमसेन्टर भन्ने विकृति आएको हो, तयारी आफूले गर्ने र मूल्यांकन अरुले गर्ने हो । एउटा मात्र क्याम्पस भएको क्याम्पस होम सेन्टर हुन्छ । तर त्यसमा अनुगमन तथा चार वर्षको नतिजा विद्यार्थीले पढ्दा कसेर पन्नोस् परीक्षा हामी कसेर लिन्छौं अनि मात्र आउटपुट राम्रो हुन्छ । काठमाडौंका विद्यार्थीलाई होम सेन्टर दिँदैनौं । होम सेन्टर भएका क्याम्पसको अनुगमन कडा गर्ने गरेका छौं । नतिजा रिभ्यु गर्ने सोचमा गएका छौं । चार वर्षको सबै क्याम्पसको नतिजा रिभ्यु गरी मूल्यांकनको तरिका फरक गर्ने आन्तरिकमा २० मा २० र फाइनमा ८० मा २० आउने विद्यार्थीको मूल्यांकन घटाउने सफ्टवेर बनाएका छौं । अहिले विद्यार्थीले रिफरेन्स बुक पढ्दैनन् । ओल्डइज गोल्ड पढेर आफै लेखेपनि सबै एउटै लाइन लेखेको पाइन्छ । मौलिकतालाई प्राथमिकता दिएर मूल्यांकन गर्छौं ।

त्रिवि पुरानो मानसिकताले गर्दा उचित व्यवस्थापन भएन, जुन हिसाबले अघि बढ्नु पर्ने हो छैन भन्ने सुनिन्छ नि ?

देशको पहिलो विश्वविद्यालय । २०१२ सालदेखि प्रक्रिया थालनी गरेर २०१६ सालमा स्थापना भएको जेठो विश्वविद्यालय हो । गरिब तथा निमुखालाई सर्वसुलभ शिक्षा पुर्याउने उद्देश्यले सरकारले स्थापना गरेको विश्वविद्यालय हो । मैले पढ्दा २० शुल्क लिन्थ्यो । २५ प्रतिशतलाई छात्रवृत्ति दिन्थ्यो । २० रुपियाँबाट परीक्षा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन ? अहिले ४६० रुपियाँ परीक्षा शुल्क लिन्छौं । खुला विश्वविद्यालयमा १ लाख ३० हजारमा डिग्री पाउँछ हाम्रोमा तीन हजार रुपियाँमा डिग्री पाउँछ । फाइन्यासीयल रिसोर्य जेनेरेट गर्न दिनु पर्यो । त्रिविले सिएसआइटी चलायो यसको फि पनि मंहगो छ क्वालिटी पनि राम्रो छ । राज्यले कि सबै जिम्मेबारी लिनु पर्यो । नयाँ विषय समय सापेक्ष विषय, पुराना विषय परिवर्तन गर्नु पर्यो, अहिलेको जस्तो शिक्षकले चार पाँच महिनामा तलब खाने अवस्थाको अन्त्य हुनु पर्यो, गरीब पढाउन छात्रवृत्तिको व्यवस्था गरी थोरै शुल्क लिनु पर्ने अवस्था सिर्जना गर्न रिथिंक गर्नुपर्यो । उच्च शिक्षा निशुल्क होइन । थोरै शुल्क लिएर आर्थिक व्यवस्थापन गर्नुपर्यो । त्रिविले ४ लाख विद्यार्थी धान्न सक्दैन कोटा निर्धारण गर्नुपर्यो । विश्वका अरु विश्वविद्यालयसंग प्रतिस्पर्धामा जानेगरीको व्यवस्था सिर्जना गर्नुपर्छ ।

त्रिविमा भर्ना, परीक्षा र नतिजा अनिश्चितता छ भन्ने सुनिन्छ नि ?

मैले हेर्दा दुई वर्ष पुरानो परीक्षा लिएको हुँ । २०७४ मा ०७२ को परीक्षा लिएको हुँ । २०७६ मा आइपुग्दा ०७६ कै परीक्षा लिएर क्यालेन्डर मेनटेन गरिसकेको थिए । भदौमा स्नातक र फागुनमा मास्टरको भर्ना गर्नेगरी भर्ना प्रक्रिया व्यवस्थापन गरेका छौं । भर्ना प्रक्रिया नियन्त्रणमा छ । करिब तीन चार महिनामा परीक्षाको नतिजा सार्वजनिक गर्न थालेका छौं । अहिले कोरोनाले गर्दा गडबढ भएको हो । यो प्रक्रिया अब अनलाइनमा जान्छौं । फारम भर्ने देखि सबै अनलाइनबाट गर्छौं । प्रथम वर्षको भर्ना पश्चात परीक्षा लगायत सबै काम अनलाइनबाट गर्छौं । अहिलेको अवस्था प्राकृतिक विपत् हो । हामीले गर्ने पहल नो भ्याक्सिन नो परीक्षा शिक्षकले भनेका थिए । केही शिक्षकले खोप लगाएका छन् । बाँकीले पनि पाउनेछन् । सबैले खोप नपाउञ्जेलसम्म सजगता अपनाएर यो परीक्षामा सहभागी हुनुहोस् । कक्षा अनलाइनबाट सहभागी हुनुहोस् । भोलिबाट छुटेको र १० गते देखि संयमता अपनाएर सामाजिक दुरी कायम गरी परीक्षा दिन विद्यार्थीलाई आग्रह गर्छु ।