सबै विषयमा आन्तरिक मूल्याङ्कन

कक्षा ९ का विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने भन्नेमा धेरै शिक्षक अन्योलमा रहेको पाइएको छ । थुप्रै शिक्षकले इडियुपत्रमा सम्पर्क गरी यस बारेमा जिज्ञाशा राख्दै आएका छन् । एक शिक्षकले “के अब इच्छाधीन गणितमा पनि प्रयोगात्मक अङ्क दिनुपर्ने हो र ?” भनेर इडियुपत्रको म्यासेजबक्समा जिज्ञाशा राखेका छन् । 

चालु शैक्षिक सत्रमा कक्षा ९ को पाठ्यक्रम परिवर्तन भएकाले मूल्याङ्कनका बारेमा उनीहरु अन्योल देखिएका हुन् । पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको पाठ्यक्रम अध्ययन गर्ने शिक्षकहरु अन्योलमा नरहेको भनाइ केन्द्रका पदाधिकारीहरुको छ ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ९ मा सात वटै विषयमा आन्तरिक मूल्याङ्कनको व्यवस्था गरिएको छ । आन्तरिक मूल्याङ्कनका लागि २५ अङ्क छुट्टयाइएको छ । कम्प्युटर, होटेल व्यवस्थापन जस्ता विषयमा भने आन्तरिक मूल्याङ्कन ५० अङ्कको हुने व्यवस्था छ ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले राष्ट्रिय पाठ्यक्रम प्रारुपअनुसार मूल्याङ्कन गर्नुपर्ने बताए । “पाठ्यक्रमअनुरुप मूल्याङ्कन गर्नुपर्छ । यसमा अन्योल हुनु जरुरी देखिँदैन” उनले भने, “तैपनि यस विषयमा आन्तरिक छलफल गरी कार्यविधि तयार गरी पठाउने सोचिरहेका छौँ ।”

पाठ्यक्रमले आन्तरिक मूल्याङ्कनको विधि नै तोकिदिएको छ । परियोजना कार्य, विद्यार्थीको सक्रियता, उपस्थिति लगायतका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।  नयाँ पाठ्यक्रमअनुसार विषयगत रुपमा आन्तरिकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्नैपर्ने हुन्छ । सोअनुसार ग्रेड प्राप्त गर्न नसक्नेका लागि ग्रेडवृद्धि परीक्षा दिने पाउने व्यवस्था छ । तीन पटकसम्म सुधार गर्न नसक्नेले कक्षा १० मा अध्ययन गर्न नपाउने व्यवस्था छ । 

आगामी २०८० सालबाट कक्षा ५, कक्षा ८ र कक्षा १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ ।

Thuprai - Books and E-books