A Levels MA

संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई पारिश्रमिक दिने

रूपन्देहीका संस्थागत विद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी अवधिभरको पारिश्रमिक दिने भएका छन् ।

वैशाख महिनादेखि तलब नपाएका शिक्षकलाई पहिलो चरणमा आंशिक रुपमा तलब दिने निर्णय भएको बताइएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीको सोमबार भएको भेलाले शिक्षकलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण चैत महिनादेखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकको आर्थिक स्थितिलाई ध्यानमा राखी हाललाई राहतस्वरूप मासिक तलबमानको २५ प्रतिशतभन्दा कम नहुने गरी उपलब्ध गराउने निर्णय भएको उहाँको भनाइ छ । बाँकी तलबबारे आगामी अवस्था र सरकारको निर्णयानुसार पछि गरिने पनि उहाँले बताउनुभयो ।

बन्दाबन्दीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा शुल्क उठाउन नपाएकाले निजी विद्यालय  आर्थिक सङ्कटमा परेको भएपनि शिक्षक कर्मचारीको स्थिति झन् नाजुक बनेकाले राहतस्वरुप पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालय व्यवस्थापनलाई अनुरोध गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

विद्यालयको आर्थिक अवस्था हेरी सोभन्दा बढी पारिश्रमिक दिन सकिनेसमेत प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीले बताउनुभयो । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयमा पठनपाठन नियमित गराउन सरोकार पक्षसँग नियमित वार्ता र संवादको पहल गर्न भन्दै प्याब्सन रुपन्देहीले यसअघि ‘समस्या समाधान कार्यदल’ गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा पठनपाठनको व्यवस्था मिलाउने र शिक्षक कर्मचारीलाई तत्काललाई पारिश्रमिकको २५ प्रतिशत रकम दिने निर्णय गरिएको कार्यदलका सदस्य हरि ज्ञवालीले जानकारी दिनुभयो ।

संस्थागत विद्यालयका शिक्षक गत चैत महिनादेखि तलब नपाएको भन्दै आन्दोलित हुँदै आएका थिए । रुपन्देही जिल्लामा प्याब्सनसँग आबद्ध २४२ विद्यालयमा करिब सात हजार शिक्षक–कर्मचारी रहेका छन् । सुरक्षा प्रबन्धसहित पठन पाठनको तयारी यसैबीच प्याब्सनले सुरक्षा प्रबन्धसहित नियमित पठनपाठन शुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञसहित कार्यदलले सदस्य विद्यालयको अवस्थाका बारेमा अध्ययन गरेपछि बालबालिकाको सुरक्षा प्रबन्धका साथ नियमित पठनपाठन शुरु गर्न सकिने अवस्था तयार हुँदै गएको निष्कर्षमा प्याब्सन पुगेको छ ।

Thuprai - Books and E-books