After SEE Portal

सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोग

Bridge Course

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताइन् ।

मन्त्रालयले प्रदेशका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाइ उपलब्धि बढाउने कार्यका लागि पूँजीगत अनुदान विनियोजन गरेको हो ।

मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयको नतिजा सुधार गर्नका लागि विद्यालय शिक्षामा नतिजा सुधारका लागि विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेशभित्रका रहेका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी व्यवस्थापन सुधारको लक्ष्यसहित अनुदान दिन रु २५ करोड विनियोजन गरेको मन्त्री मोक्तानको भनाइ छ ।

उक्त कार्यक्रमका लागि सङ्घीय सरकारसँगको समन्वयमा प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिने जनाइएको छ । उनका अनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आबद्ध गर्न उपलब्धि सूचकहरु निर्धारण गरिनेछ ।

यसैगरी माध्यमिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नसमेत बजेट व्यवस्था गरिएको उनले बताइन् । उनले भनिन्, “अबको शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत सञ्चालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गरिने छ । ”

यसका लागि सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गरिने र सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले बताइन् ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसङ्ख्यक, लोपोन्मुख, अति सीमान्तकृत, विपन्न दलित समुदायका छात्रछात्रामध्ये प्रतिस्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न र सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रालाई प्रदान गरिने छात्रवृत्तिसमेत बजेट छुट्याइएको मन्त्री मोक्तानले जानकारी दिइन् ।

आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसङ्ख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गरिने उहाँले बताइन् ।

प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया सुरु गरिने र उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन र सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरिने मन्त्री मोक्तानले बताइन् ।

प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल सञ्चालित बाल विकास केन्द्रहरुको भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याउना साथै स्थानीय तहलाई बालमैत्री संरचनाहरु स्थापना गर्न प्रोत्साहित गरिने बताइन् ।

A Levels MA
Thuprai - Books and E-books