बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, हेटौडाले गत माघ दुई गते आव्हान गरेको ‘सामुदायिक विद्यालयहरूलाई सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम वा विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदान कार्यक्रम’ कार्यक्रमको पारदर्शितामा विद्यालयले नै प्रश्न उठाएका छन् ।
शैक्षिक उपलब्धीमा आधारित प्रोत्साहनका लागि छनोटमा परेका माध्यमिक तहलाई अधिकतम् २० लाख रुपियाँ र आधारभूत तहका विद्यालयलाई न्यूनतम १० लाख सम्म पाउने छन् । भने विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार माध्यमिक तह छनोटमा परेमा अधिकतम् १० लाख रुपियाँ र आधारभूत तहले न्यूनतम ५ लाख रुपियाँ अनुदान पाउने छ ।
उक्त रकम छनोटमा पारेर अधिकतम लाभ लिने उद्देश्यले मनोमानी सुरु भएको विद्यालयको आरोप छ ।
प्रदेश भित्र सञ्चालन गरिने उक्त कार्यक्रममा आवेदन दिनुपर्ने तर कार्यक्रम आफ्नो अनुकूल गर्नुपर्ने दवावका कारण प्रस्तावना भर्ने कि नभर्ने भन्ने विषयमा दुविधा भएको प्रधानाध्यापकहरू बताउँछन् ।
उक्त कार्यक्रम सञ्चालनका लागि मन्त्रालय, निर्देशनालय र स्थानीय तहका कर्मचारीबाटै दवावमूलक ढंगले विद्यालयलाई आवेदन दिन लगाएको प्रधानाध्यापकहरूको गुनासो छ ।
विद्यालयमा गुणस्तर सुधारका नाममा ल्याइएको यो कार्यक्रम कार्यान्वयन गर्न नै चुनौति देखिएको हुँदा आफूले आवेदन अहिलेसम्म नदिएको अधिकांश प्रधानाध्यपकहरू बताउँछन् । ‘दैनिक तीन चारओटा कल आउँछ, प्रस्तावना हामी हाली दिन्छौं, कार्यक्रम पक्का पर्छ ।’ मकवानपुरका एक प्रधानाध्यापकले भने, ‘आफैं प्रस्तावना हाले कार्यक्रम पर्दैन हामीले हालेको पर्छ तर कार्यक्रम हामीले भने अनुसार गर्नुपर्छ ।’
मकवानपुर मात्र होइन भक्तपुरको एक विद्यालयलाई पनि दैनिक प्रस्तावना हालिदिने दवावमूलक फोन आउने गरेको छ ।
यस विषयमा मन्त्रालयका प्रवक्तासंग कुरा गर्न खोज्दा निर्देशनालयको कार्यक्रम भएकोले उतै कुरा गर्न भनेर पन्छिएको पाइयो भने । निर्देशनालयका निर्देशकसंग सम्पर्क हुन सकेन । सूचना अधिकारीले भने आफू व्यस्त भएको जानकारी दिए ।
यो प्रदेश सरकारको आर्थिक वर्ष २०८०–२०८१ को स्वीकृत वार्षिक कार्यक्रम हो । यासमा प्रदेश भित्रका सामुदायिक आधारभूत विद्यालय र माध्यमिक तहका विद्यालयले आवेदन दिन पाउने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार एउटा विद्यालयले एउटा मात्र कार्यक्रममा आवेदन दिन पाउँछन् ।
कार्यविधिले तय गरेका मापदण्ड अनुसारका सर्तहरू पूरा गरेका इच्छुक सामुदायिक विद्यालयहरूले सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन वा विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदानमध्ये कुनै एक कार्यक्रमको अनुदान प्राप्त गर्नका लागि यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत आधिकारिक प्रमाणका आधारमा आवेदन दिनु पर्ने छ ।
सूचना प्रकाशन भएको अवधिले यो कार्यक्रमका लागि आवेदन दिने समय दुई दिन मात्र बाँकी छ ।
सम्बन्धित विद्यालयका २ जना शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा सदस्य, प्रधानाध्यापक र स्थानीय तहको शिक्षा महाशाखा र शाखा प्रमुखले प्रमाणित सहित सहीछाप गरी अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
विद्यालय व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयन कार्यावधि २०८०
शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०