एक वर्ष नपुग्दै एक लाख बढीले एनओसी लिए

एक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक खा भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।

गत साउनदेखि अहिलेसम्म मन्त्रालयको एनओसी शाखाबाट  १ लाख २ हजार ८७३ जनाले  एनओसी लिएका हुन् ।  पछिल्लो ११ महिनामा  विगतको तुलनामा  एनओसी लिनेको संख्या अत्याधिक बढेर गएको मन्त्रालय स्रोतले जानकारी दियो । शाखाका अनुसार दैनिक एक हजारका बढी एओसी जारी हुने गरेको छ ।

कोरोना माहामारी पछि हरेक हप्ता एनओसी लिने विद्यार्थीको संख्या अत्याधिक बढेर गएको छ ।  पछिलो ११ महिनामा विद्यार्थीले एनओसीका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रूपियाँ राजस्व सङ्कलन भएको एनओसी शाखाले जानकारी दियो ।

विदेशी विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया खुकुलो पारेसंगै त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ ।

सन् २०२२ को जनवरीदेखि जुन २५ सम्म ७६ हजार ७७६ थान एनओसी मन्त्रालयले जारी गरेको  शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए ।

उच्च शिक्षाका लागि अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, कोरियाका विश्वविद्यालय विद्यार्थीको गन्तव्य मुलुक रहेको एनओसी लिन आउने विद्यार्थीले जानकारी दिने गरेको शाखाका  कर्मचारीहरू बताउँछन् ।

साउनदेखि असार पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । त्यस्तै सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, ५ हजार २०१ जनाले क्यानडा, ४ हजार ८५२ जनाले अमेरिका र १ हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न एनओसी लिएको शाखाले जानकारी दियो ।