After SEE Portal

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

Bridge Course

शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ।

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताए ।

विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ ।

“शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैँले आइसिटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो”, सापकोटाले भने । इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्याएको विद्यालयका सूचना अधिकारीसमेत  शिक्षक डम्मरुवल्लभ ओझाले बताए ।

यो विद्यालयमा इभेन्ट परियोजना सेकेन्ड सञ्चालनमा आएसँगै शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको ओझाको भनाइ छ । मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार सात सय छ ।

इभेन्ट परियोजनाले आइसिटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई रु ३० लाख ६२ हजार पाँच सय आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् । प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ ।

यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् । आइसिटीको प्रयोगले विद्यालयमा विद्यार्थीले रमाएर सिक्न पाएको र उनीहरूलाई प्रविधिको उच्चतम् प्रयोग गर्दै सिकाउन इभेन्ट परियोजनाले ठूलो सहयोग पुर्याएको विद्यालयका अर्का शिक्षक मुकुन्द ढकालले बताए ।

आइसिटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी ) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ । यो विद्यालयमा आवाससहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठनपाठन गराइने गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books