A Levels MA

पढ्ने रहर छ नि !

कक्षा ८ सम्म औपचारिक शिक्षा, उच्च तह धार्मिक पढ्दै

टाउको मुन्डन गरेका । चिवरवस्त्र धारी ससाना बालबालिका लाई सम्यक दृष्टि, सम्यक वाचा, सम्यक कर्म, सम्यक जीवन, सम्यक व्यायाम, सम्यक संकल्प, सम्यक एकाग्रता, सम्यक समाधीसहित त्रिपिटकका हरेक लाइन याद छ । आधुनिक शिक्षाआर्जन गनुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ । कठोर परिश्रमका साथ गुम्बा र बिहारमा ससाना बालबालिका बौद्धिक शिक्षा र आधुनिक शिक्षाआर्जन गरिरहेका छन् ।

कतिपय गुम्बामा सञ्चालित विद्यालयलाई सरकारले मान्यता दिइसकेको छ भने कतिपय मान्यताकै पर्खाइमा बौद्धिक र आधुनिक शिक्षा प्रदान गरिरहेका छन् ।

मनाङकी १३ वर्षीय फूर्वी (नाम परिवर्तित) अहिले कीर्तिपुर गुम्बामा बस्छिन् । उनलाई बढी आनीले नजिकैको निजी विद्यालयमा पढ्न पठाउछ्नि तर बाहिरी दुनियाँसंग सम्पर्क गर्न भने दिँदैन । उनलाई आफूसंगै पढ्ने अरु साथी जस्तै सबैसंग बोल्ने रहर छ । फोटो खिच्ने रहर छ । हास्ने रहर छ । नाच्ने रहर छ । तर आनीदिदीले यसो गर्न नदिने उनको गुनासो छ तै पनि पढ्न पाएकोमा उनी खुसीछिन् । ‘धेरै पढ्ने रहर छ नि तर के गर्नु बाबुआमा छैनन् ।’ उनी भन्छिन्, ‘ बल्ल बल्ल कक्षा तीनमा पुगे अब माथि पढ्न पाउँछु कि पाउँदिन मलाई पनि नाच्ने, टिकटक बनाउने रहर छ तर बडीआनीले दिनुहुन्न ।’

गोरखाका आङ्बुटी शेर्पा हरेक दिन विहान ४ बजे नै उठ्छन् । आफ्नो नित्यकार्य सकेर ५ बजेदेखि साढे ६ बजेसम्म प्रार्थनाको कक्षामा बस्छन् । उनी आफूभन्दा साना लामालाई प्रार्थना गर्ने नियम तथा तरिका सिकाउँछन् । ब्रेकफास्टपछि ८ बजेदेखि साढे १० बजेसम्म सानासाना लामालाई एबीसीडी पढाउँछन् । भने, दिउसोको समयमा उनी आफैँ १७ वर्ष अघिदेखि बौद्ध दर्शन सम्बन्धी निन्दोथोलेप धोलाङ लुङ्गेरिक धुन्झोलिङ दक्षिणकालीबाट उच्च शिक्षा हासिल गरिरहेका छन् ।

उनको दिनचर्या विगत ८ वर्ष अघिदेखि यसरी नै बितिरहेको छ । उनी आचार्य (लोपेन) तह अध्यनरत छन् । उनले नेपालबाट यो तह यसै वर्ष पुरा गरेका छन् । अबको तीन वर्ष बाहिरका बौद्ध शिक्षालयमा गएर गुरु बनी खेम्बोको उपाधि हासिल गर्ने सोचमा छन् ।

उनकै जस्तै दिनचर्या छ मुस्ताङ्का १० वर्षीय खेन्देप लामाको । उनी विगत दुई वर्षदेखि सोही विद्यालयमा पढ्दै आएका छन् । कक्षा दुईमा अध्ययनरत उनी बिहान–बेलुका धार्मिक शिक्षा लिन्छन् भने दिउसो सोही विद्यालयमा औपचारिक शिक्षा लिँदै आएका छन् । आधारभूत तहको शिक्षापछि उनी पनि सोही विद्यालयबाट बौद्ध दर्शनसम्बन्धि उच्च शिक्षा हासिल गर्ने बताउँछन् ।

सो गुम्बामा अहिले ५० जना बालबालिकाले आधारभूत तहको औपचारिक शिक्षा लिईरहेका छन् । भने, अन्य १ सय जना विद्यार्थीले बौद्ध दर्शन सम्बन्धि उच्च शिक्षा लिइरहेको विद्यालयका लेखाशाखाको प्रमुख रिङ्चोन बताउँछन् । सन् २००४ मा बौद्ध शिक्षालयको रुपमा स्थापना भएको धुन्झोलिङलाई आगामी शैक्षिकसत्रबाट सरकारसँग अनुमति लिई आधिकारिक शिक्षालयको रुपमा विकास गरिने व्यवस्थापनको भनाइ छ ।

लामाहरूलाई बाहिरी दुनियाँसंग परिचित गराउने उद्देश्यले आफूहरूले औपचारिक शिक्षाको व्यवस्था गरेको रिङ्चोनको भनाइ छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा नेपाल सरकारको पाठ्यक्रम अनुरुपन कक्षा सञ्चालन गरिँदै आएको छ ।

सो विद्यालयमा अध्यापन गराउनका लागि तिब्बतका चार जना, भारतीय दुई जना र अन्य स्वदेशका नै उच्च शिक्षा हासिल गरेका लामाको व्यवस्था गरिएको छ ।

गोन्पा÷बिहार शिक्षाको प्राज्ञिक मान्यता नभएपछि साधारण विषयतर्फ पनि कक्षा सञ्चालन गर्न थालिएको हो । सो विद्यालयमा अध्ययन गर्ने लामाहरू ‘बिहान ५ देखि राती ११ बजेसम्म पढेर नै दिन बिताउने हुँदा अन्य विद्यालयका भन्दा अनुशासित र दक्ष जनशक्ति उत्पादन गर्ने सो विद्यालयका एक शिक्षक बताउँछन् ।

गोन्पा शिक्षाको ङोन्डो (नर्सरी) देखि आठ वर्षसम्म औपचारिक शिक्षापछि क्याम्पस तह सुरु हुन्छ । आचार्य (लोपेन) तह पूरा गरेपछि लामाले अन्य गुम्बाहरूमा गई सेवा गर्नुपर्छ । लामाको क्षमता र प्रस्तुतीकरणका आधारमा खेम्बोको उपाधि पाउने गरेका छन् । क्याम्पस तहमा तिब्बती कोर्स पढाइ हुँदै आएको छ । उक्त क्याम्पसबाट १५ जना लामाले आचार्य तहको पढाइ पुरा गरिसकेका छन् ।

धुन्झोलिङ जस्तै दक्षिणकालीकै शेर्पा गुम्बाको सहकार्यमा मिङमा पल्युल उर्गेन क्षोलिङ माविले पनि बिहान–बिहान धार्मिक शिक्षा र दिउसो औपचारिक शिक्षा प्रदान गर्दै आएको छ । यो विद्यालयमा अहिले सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयका विद्यार्थीहरू २०७२ सालदेखि भोटेभाषामा एसईई परीक्षा दिँदै आएका छन् ।

गोन्पा शिक्षासँगै साधारण विषयको पठनपाठन गरेपछि बाहिरी दुनियासँग सम्पर्क गर्न सजिलो हुने कारण आधारभूत तहको औपचारिक शिक्षामा जोड दिन थालिएको छ । गुम्बाबाहेक अन्यत्र पनि पढाइको मान्यता लिनका लागि औपचारिक शिक्षा प्रदान गर्न थालिएको धुन्झोलिङका लेखापाल रिङ्चोन बताउँछन् ।

काग्गीमु इन्स्टिच्युट सिंगापुरको सहकार्यमा सञ्चालित कीर्तिपुर गुम्बामा बस्दै आएका २९ आनी स्थानीय हिल टाउन स्कुलमा प्ले ग्रुपदेखि कक्षा ४ सम्म पढ्दै आएका छन् । यसैगरी कीर्तिपुरकै अर्को विहारका आठ जान आनीहरू स्थानीय सामुदायिक विद्यालयबाट औपचारिक शिक्षा लिँदै छन् । उनीहरू अन्य विद्यार्थीभन्दा मेहनती भएको सम्बन्धित विद्यालयले जानकारी दियो ।

आनीहरूको शिक्षालाई ध्यानमा राख्दै आनी छोइङ डोल्माले सन् २००४ मा दक्षिणकालीमा स्थापना गरेको आर्यतारा स्कुलमा अहिले ८५ जना आनीहरू अध्ययनरत छन् । यो विद्यालयमा अध्ययन गरेका अन्य १५ जना आनीहरू अहिले काठमाडौंका विभिन्न कलेजबाट उच्च हासिल गरिरहेका छन् । उच्च शिक्षा हासिल गर्दै गरेका आनीलाई सो विद्यालयले नै संरक्षण गर्दै आएको छ । मनाङ, फु गाउँ घरभई आर्यतारा स्कुलकै संरक्षणमा रहेकी शेराब डोल्कार गुरुङ अरुन्दय कलेज फर्पिङबाट कक्षा १२ पास गरिसकेकी छिन् । ।

यसबाहेक अन्यत्र रहेका गुम्बा तथा बिहारका विद्यालय उमेर समूहका लामा तथा आनीहरूलाई गुम्बा तथा बिहारहरूले बौद्ध दर्शनको फिलोसोफी र दर्शन पढाउँदै आएको छ । फिलोसोफीमा सुत्र र मन्त्र सिकाइने गरेको छ । भने, दर्शनमा बौद्ध दर्शन सम्बन्धि बृहत ज्ञान दिइने गरेको छ । बौद्ध दर्शनमा आधारित ज्ञान, सीप र अभिवृत्तिको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएको छ । यस शिक्षामा धार्मिक अनुष्ठानका अतिरिक्त मानिसको जीवनमा अति आवश्यक पर्ने औषधोपचार विधि, खगोल शास्त्र सम्बन्धी ज्ञान, विभिन्न चित्रकला र मूर्तिकलाका साथै मानव मस्तिष्कलाई सांसारिक विषय वस्तुबाट क्रमशः हटाई आध्यात्मिक विकासमा जोड दिइन्छ ।

गुम्बामा बस्ने आनी तथा लामाहरूमा अधिकांश नेपालको उत्तरी क्षेत्रका आदिवासीहरूकोे बाहुल्यता रहेको छ । मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवालगायतका जिल्लाका बालबालिकाहरू बढी रहेका छन् । उनीहरू कतिपय रहरले गुम्बामा बस्ने गरेका छन् भने कतिपय भूकम्प प्रभावित बालबालिकालाई गुम्बाकै पहलमा ल्याउने गरिएको छ ।

ट्राभल एन्ड टुरिजम् पढ्दै गरेकी स्वयम्भुकी छुल्ट्रिम वाङमो आफ्नी हजुरआमा तथा फुपु आनी भएको र उनकै प्रेरणाबाट आफू पनि गुम्बानै बस्ने गरेको बताउँछिन् । ‘म सानैदेखि हजुरआमासँग गुम्बामा आउने जाने गर्थे । पछिपछि संसारिक दुनियाभन्दा गुम्बाकै जीवन मन परेको हुनाले यही बसे ।’ उनी थप्छिन्, ‘आफू ट्राभल एन्ड टुरिजम् सम्बन्धि ज्ञान हासिल गरेर टुरिष्ट गाइड बनी स्वदेशमा आउने पर्यटकको सेवा गर्छु ।’

धादिङ घर भई कीर्तिपुर गुम्बामा विगत तीन वर्षअघि देखि बस्दै आएकी छिन धादिङकी प्रतिक्षा लामा । २०७२ सालको विनाशकारी भूकम्पमा परी आफन्त गुमाएकी प्रतिक्षा गुम्बाकै आनीहरूको सहयोगमा आफू यहाँसम्म आएको बताउँछिन् ।

शेराबलाई नौ वर्षको उमेरमा उनका बुवाले नै गुम्बामा राखिदिएका हुन् । बुबाले उक्त समयमा गुम्बामा छाडेपछि उनलाई दुःख लागेको थियो । तर समयसँगै साथीहरूको संगत, धार्मिक ज्ञान तथा बौद्ध दर्शनको ज्ञानले अहिले आत्मा नै शुद्ध बनाएको बताउँछिन् ।

यो शिक्षा सामान्य स्कुलहरूबाट प्राप्त गर्न सकिँदैन । विभिन्न गुम्बाहरूमा प्रदान गरिने यो शिक्षालाई मुलधारमा ल्याउनका लागि नेपाल सरकारले आधुनिक शिक्षा मिसाएर धार्मिक शिक्षाको पाठ्यक्रम तयार पारेको छ ।

गोन्पा शिक्षा आध्यामिक शिक्षा हो भने आधुनिक शिक्षा बौद्धिक शिक्षा हो । दुईवटै शिक्षा एकै साथ लैजान सके बौद्ध शिक्षाको प्रभाव बढ्दै जाने लोपेन छोइङ राङदिलको विश्वास छ ।

शिक्षालाई मुलधारमा ल्याउने उद्देश्यले विभिन्न धार्मिक विद्यालयलाई सरकारले आधारभूत तहसम्म कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गर्ने गरेको छ । कुल १ हजार १२१ विद्यालयले अनुमति प्राप्त गरी धार्मिक शिक्षा प्रदान गर्दै आईरहेका छन् । यसअन्तर्गत उच्चमाध्यमिक तह ६, माध्यमिक तह ३१, निम्नमाध्यमिक तह ७५ विद्यालयले धार्मिक शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

यसअन्तर्ग गुम्बा तथा बिहारबाट वोन्पो (बौद्ध) शिक्षा प्रदान गर्ने ११४ विद्यालय रहेका छन् । सबै विद्यालयलाई आधारभूत तहको कक्षा सञ्चालन गर्ने अनुमति दिइएको भएतापनि ११ वटा विद्यालयले निम्नमाध्यमिक (आधारभूत तह) कक्षा ८ सम्म बौद्ध दर्शनको कक्षा सञ्चालन गर्ने गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा तयार गरिएको पछिल्लो फ्ल्यास रिपोटमा उल्लेख गरिएको छ ।

यस्तैगरी मदरसाअन्तर्गत कुल ९ सय ७ विद्यालयलाई आधारभूत तहको कक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । अनुमति प्राप्त सबै विद्यालयबाट प्राथमिक तहको शिक्षा प्रदान गर्ने गरिएको छ । भने ३३ विद्यालयले मात्र आधारभूत तह (१–८) को कक्षा सञ्चालन गर्ने गरेका छन् ।

त्यस्तै, कुल एक सय विद्यालयलाई गुरुकुल तथा आश्रम अन्तर्गत आधारभूत तहको विद्यालय सञ्चालन गर्ने अनुमति दिइएको छ । यस अन्तर्गत ३१ विद्यालयले आधारभूत तह कक्षा ८ सम्म पठनपाठन गराउँदै आएको फ्ल्यास रिपोर्टमा उल्लेख गरिएको छ ।

धार्मिक विद्यालय अन्तर्गत प्राथमिक तहमा ७ हजार ७ सय ९ विद्यार्थी अध्ययनरत छन् । त्यस्तैगरी आधारभूत तहमा ६ हजार ४ सय ३४ विद्यार्थी अध्ययनरत छन् । आधारभूत तहमा ८३ हजार ४ सय ४३ विद्यार्थी रहेका छन् । भने माध्यमिक तहमा ४ हजार ४ सय ८७ विद्यार्थी रहेका छन् । यसैगरी माध्यमिक तहको कक्षा ११–१२ मा १ हजार १ सय ७ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

गोन्पा शिक्षालाई मुलधारमा ल्याउने उद्देश्यका साथ नेपाल सरकारले गोन्पा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । प्राथमिक शिक्षाको पाठ्यक्रम अनुसार चार वर्ष उमेर पुरा नभएका बाल बालिकालाई शिशु विकास केन्द्र वा गोन्पा (गुम्बा) बाट धार्मिक, शारीरिक, सामाजिक, संवेगात्मक वा बौद्धिक प्रकारको सरल शिक्षा दिन सकिने व्यवस्था गरेको छ । चार वर्षको उमेर पुरा भइसकेका बाल बालिकालाई एक वर्षको पूर्व प्राथमिक शिक्षा दिन सकिने व्यवस्था गरेको छ ।

पूर्व प्राथमिक शिक्षाका लागि गोन्पा (गुम्बा) स्वयम्ले राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुरूप आवश्यकता अनुसारको पाठ्यक्रम र पाठ्यसामग्री तयार गरी प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार सामाजिक अध्ययन विषयलाई सम्बन्धित परम्परागत शिक्षा विषयको विषयवस्तुलाई समेत अनुकूलन गरी सम्बन्धित भाषामा नै पठनपाठन गर्न सकिने व्यवस्था गरेको छ । गोन्पा शिक्षाको ऐच्छिक विषयको रूपमा साधारण शिक्षाका ऐच्छिक विषयका अतिरिक्त भोट भाषा र बौद्घ शिक्षा पठनपाठन गर्न सकिने व्यवस्था प्रारुपले गरेको छ । त्यसैगरी मदर्सा शिक्षाको ऐच्छिक विषयका रूपमा साधारण शिक्षाको ऐच्छिक विषयका अतिरिक्त अरेबिक भाषा साहित्य र व्याकरण, उर्दू भाषा साहित्य र व्याकरण एवम् दिनियात विषय पठनपाठन गर्न सकिने उल्लेख गरेको छ ।

विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षाको साधारण विद्यालयतर्फका पाठ्यपुस्तक आवश्यकता अनुसार सम्भोटा लिपिमा वा अङ्ग्रेजी भाषामा अनुवाद गरी सम्बन्धित भाषामा नै शिक्षण गर्न सकिने व्यवस्था गरेको छ ।

प्राथमिक शिक्षामा मूलतः सम्भोटा लिपिमा भोट भाषालाई मातृभाषाका रूपमा शिक्षाको माध्यम बनाइको छ । अरू भाषा विषय तथा अन्य विषयको विषय वस्तुलाई दृष्टिगत गरी नेपाली, अङ्ग्रेजी तथा भोट भाषा गरी भाषिक माध्यमका रूपमा त्रयभाषिक नीति अवलम्बन गरिने व्यवस्था नेपाल सरकारले गरेको छ ।

स्थानीय विषय साधारण विद्यालय तर्फको प्राथमिक तहको पाठ्यक्रममा व्यवस्था भएबमोजिम गोन्पा (गुम्बा) शिक्षातर्फ प्राथमिक तहमा पनि सामाजिक अध्ययन तथा मानवमूल्य शिक्ष, विज्ञान तथा प्रविधि, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र मातृभाषा÷स्थानीय विषयको पाठ्यक्रम तथा पाठ्य सामग्री गोन्पा (गुम्बा) आफैँले निर्माण गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तो पाठ्यक्रममा सामाजिक अध्ययनका लागि वार्षिक कार्यघण्टा निर्धारण गरेको छ ।

Thuprai - Books and E-books