CMAT

विद्यार्थी ल्याउन र टिकाउन सुविधायुक्त छात्रावास

आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ ।

सुविधाका लागि स्थानीयहरू सहर छिरे, बेरोजगार युवा विदेशिए । रेमिट्यान्स भित्रिएसंगै गाउँघर रित्तिँदै गए जसको प्रभाव विद्यालयमा पनि पर्यो । विद्यार्थी घट्न थाले । विद्यालय नै सङ्कटमा पर्ला कि भन्ने चिन्ताले बागलुङको काठेखोला गाउँपालिका–५ करलिमवासीलाई पिरोल्न थाल्यो ।

उनीहरूले गाउँ पनि उजाडिन नदिने र विद्यालय पनि जोगाउने उपाय रचे । करलिमबाट अध्ययन र रोजागारीको सिलसिलमा विदेशिएका युवाहरूको सहयोगमा विद्यालयमा सुविधायुक्त छात्रावास सञ्चालनमा आयो ।

कुनै समय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको सो विद्यालयमा अहिले आसपासका गरिब तथा जेहेन्दार विद्यार्थी आवासीय सुविधा सहित अध्ययन गर्दै आएका छन् । अछामका भरत साउद बागलुङको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनीसंगै अछामका ८, बैतडी र हुम्लाका एक–एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । सो विद्यालय अहिले पहुँच नभएका विद्यार्थीको लागि गन्तव्य स्थान बन्दै गएको छ ।

विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् ।  परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ ।

यो विद्यालयमा बैतडीसम्मका विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । विद्यालयको शिक्षण सिकाइ सुधारोन्मुख छ । विद्यार्थी संख्या बढ्दो छ । “अघिल्लो वर्ष विद्यार्थी घटेर ९० सम्म पुगेको थियो, अहिले १२० जना अध्ययनरत छन्”, सहायक प्रधानाध्यापक गोविन्दप्रसाद कँडेलले भने, ‘छात्रावास सञ्चालनमा आएपछि विद्यार्थी संख्या थपिएको छ, आउँदो शैक्षिक सत्रमा थप २५ जना बाहिरका विद्यार्थी भर्ना गर्ने लक्ष्य छ ।’

करलिमदेखि जापान, आयरल्याण्ड, अमेरिकालगायत देशमा पुगेका व्यक्तिहरूको सामूहिक पहलमा स्थापित करलिम कल्याण कोषमार्फत उक्त छात्रावास सञ्चालनमा ल्याइएको हो ।

कोषमा झण्डै रु दुई करोड जम्मा भइसकेको जनाइएको छ । उक्त कोषका सदस्यसमेत रहेका विद्यालयका शिक्षक रमेश सुवेदीका अनुसार छात्रावाससहित चार जना शिक्षकको व्यवस्थापन कोषले नै गर्दै आएको छ । कोषले मासिक डेढ लाख रुपियाँ सम्म विद्यालय सञ्चालनका लागि खर्च गर्दै आएको छ।

‘जापानमा रहनुभएका लक्ष्मणदत्त सुवेदीको परिकल्पनामा कोष खडा भएको हो, करलिमको शैक्षिक विकासमा यो संस्था सक्रिय छ”, उनले भने, ‘कोषले अहिले प्रत्यक्षरूपमा विद्यालयलाई सघाइरहेको छ, शैक्षिक गुणस्तर सुधारमा बढी जोड छ ।’

छात्रावास सञ्चालन भइरहेको सार्वजनिक भवन भने करलिम समाज जापानको सहयोगमा बनेको हो । दुवै संस्था करलिमको शैक्षिक, सामाजिक विकासमा क्रियाशील छन् ।

विद्यार्थी आकर्षित गर्न सङ्गीत कक्षा पनि सञ्चालनको तयारीमा विद्यालय छ । कक्षा ८ सम्मै अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको शिक्षक सुवेदीको भनाइ छ ।

तल्लो तहदेखि नै विद्यार्थी भर्ना बढाउन बालमैत्री सिकाइलाई चुस्त र व्यवस्थित बनाउन लागिएको छ । उपल्लो कक्षामा विद्यार्थी बाहिरबाट ल्याइए पनि प्राररम्भिक तहबाटै विद्यार्थी बढाउनुपर्ने चुनौती विद्यालयसँग छ । बालबच्चालाई पढाउने र खाली भएको घरबारी सम्हाल्ने गरी कोही परिवार अन्यत्रबाट आएमा पाँच वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउन स्थानीय तयार रहेको स्थानीय वासी बताउँछन् ।

विद्यालयका शिक्षक चिरञ्जीवी कँडेलले आउँदो वर्षदेखि प्रवेश परीक्षा लिएर मात्र बाहिरको विद्यार्थीलाई भर्ना गर्ने विषयमा छलफल चलिरहेको बताए । ‘लामो समयसम्म विद्यालय छाडेको विद्यार्थीलाई ल्याएर राख्दा उसको पढाइ सोचेजसरी अघि बढ्न सकेन, अबदेखि प्रवेश परीक्षा लिएर मात्र राख्ने सोचमा छौँ’, उनले भने, ।

विद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा त्यस्ता बालबालिकालाई भर्ना लिने गरेको छ । गत वर्ष विद्यालयका शिक्षक नै विद्यार्थी खोज्न बैतडीसम्म पुगेका थिए ।

विसं २०४२ तिर १ कक्षामा सय जनासम्म विद्यार्थी पढाएको विद्यालयले अहिले विद्यार्थी टिकाउन र विद्यालय जोगाउन अनेक जुक्ति निकाल्नुपरेको छ ।

सहायक प्रधानाध्यापक कँडेलले सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मात्र दिवा खाजाको प्रबन्ध गरेकामा आफूहरूले भने कक्षा ८ सम्मै दिवा खाजा दिने गरेको बताए ।

दिवा खाजामा हुने अतिरिक्त खर्च पनि कोषकै बजेटबाट हुने गरेको छ । विद्यार्थी सङ्ख्या अपुग भएका कारण गाउँकै पुरानो विद्यालय समस्यामा नपरोस् भन्नेमा विद्यालय व्यवस्थापन पक्षपनि सचेत छ ।

यसअघि सोही ठाउँको गैरीखेतमा रहेको श्रीराम प्राथमिक विद्यालय विद्यार्थी सङ्ख्या न्यून भएपछि करलिम माविमै गाभिएको थियो ।

पहिले गाउँ हराभरा थियो, कोही कतै जानुभएको थिएन, एक÷दुई घर भन्दाभन्दै अहिले त आधाआधी बस्ती खाली भइसक्यो’, सहायक प्रधानाध्यापक कँडेलले भने, ‘दक्ष जनशक्ति सबै बाहिर छ, गाउँमा घर कुरेर बस्ने बुढाबुढी मात्र छन् ।’

करलिमबाट अधिकांश बसाइँ सरेर चितवन पुगेका छन् । विदेश रोजगारी गर्न जानेको सङ्ख्या पनि उल्लेख्य छ । एक सय ६८ घरधुरी रहेको करलिममा अहिले जम्मा ८० परिवार बस्छन् । तीमध्ये पनि कोही थातथलो छाड्ने तयारीमा छन् ।

वडाध्यक्ष शिवप्रसाद कँडेलले आफ्नो गाउँ र विद्यालयको भविष्यप्रति प्रवासीले देखाएको चासो र गरेको सहयोग अतुलनीय रहेको बताए ।

I Tech store