आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा

गुरु परम्परा प्राचीन सनातन परम्परा हाे । हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नाे आश्रममा राखेर पालना गर्नुपर्ने नियमकाे ज्ञान बाढ्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हाे । पाैराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम,श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गर्नु भएकाे कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

हरेक वर्ष आषाढ शुक्ल पक्षकाे पूर्णिमा तिथिलाई गुरु पूर्णिमाका रुपमा मनाउँदै आएका छाै । यसवर्ष आषाढ २१ गते आइतबार परेकाे छ । गुरु पूर्णिमा  व्यास पूर्णिमाकाे नामले पनि प्रसिद्ध रहेकाे छ । यस दिन महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासकाे जन्मदिन पनि रहेकाले यसकाे महत्त्व झनै उच्च रहेकाे शास्त्रमा उल्लेख गरिएको छ । उनले चारै वेद रचना गरेकाले पनि देव व्यास भनेर भनिएकाे छ । 

यसदिन अन्धकारबाट ज्ञानकाे ज्याेति देखाईदिने गुरुहरुकाे विशेष पूजा तथा सम्मान गर्ने परम्परा सदीयौंदेखि चलिआएको छ । गुरुका लागि शिष्य सर्वाधिक मूल्यवान हुने भएकाले गुरुले देखाएकाे मार्गमा हिडेर शिष्य आफ्नाे जीवनमा सफल बनेकाे देखिनु नै गुरुप्रतिकाे सम्मन हाे । द्राेणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासमा गुरु लागिपरेकाे देखिन्छ । गुरु बृहस्पति  ज्ञानका भण्डार हुन । सबैलाई समान रुपमा ज्ञानकाे ज्याेति फैलाउने काम गुरुकै भएकाले आजका दिन गुरुकाे सम्मानमा पूजा गर्ने परम्परा रहिआएको छ । गुरुकाे महत्त्व सबै दृष्टिकोणबाट अपरमपार छ । आध्यात्मिक शान्ति,धार्मिक ज्ञान तथा सांसारिक निर्वाहका लागि गुरुकाे दिशानिर्देश महत्त्वपूर्ण रहने गरेकाे छ । त्यसकारण हरेक व्यक्तिको जीवनमा विभिन्न संकटबाट मुक्ति पाउनका लागि देखाईने मार्गनिर्देशन दिनु नै गुरुकाे कर्तव्य हाे ।

पछिल्लो समय समाज आधुनिकीकरण तर्फ धकेलिँदै गर्दा विस्तारै गुरुकुलीय परम्परा लाेपहुने अवस्थामा आएकाे परिस्थितिमा यस्ता हाम्रा माैलिक परम्पराका चाडपर्वहरुले केही भएपनि संस्कृति संस्कारको पालना गरेकाे देखिन्छ  । गुरु पूर्णिमा यस्ताे एउटा पवित्र दिन हाे उक्तदिन अन्धकारबाट उज्यालो तिर मार्गदर्शक गर्ने काम गुरुकाे हाे । यदि कुनै पनि मानिसले आजकाे दिन गुरुकाे पूजा,ध्यान तथा उच्च सम्मान प्रकट गर्नसकेमा समस्त मनाेरथ पूर्णहुने शास्त्रमा  उल्लेख गरिएको छ । गुरुबिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन । गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुँदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । 

यदि कसैलाई शिक्षामा अवरोध भएकाे छ या लामाे प्रयासपछि पनि कार्य सफल हुन सकेकाे छैन भने गुरु पूर्णिमाका दिन गुरुद्वारा मन्त्र सुनेर नित्य जप गरेमा बाधा अवराेध हटेर जाने शास्त्रमा उल्लेख गरिएको छ । मानिसकाे तेस्राे आखा अर्थात ज्ञानकाे ज्याेति खुल्ला गर्नका लागि गुरुमन्त्र द्वारा साधना गरेमा लक्ष्यमा पुग्न सकिने भनेर भनिएकाे छ । जीवनमा मार्गदर्शन गराउने मुख्य तथा सम्मानित व्यक्ति नै गुरु हाे या ज्ञानकाे अर्काेरुप भनेकै गुरुकाे हाे ।

संसारमा हरेक वस्तु दिँदा सक्किन्छ तर विद्या मात्रै एउटा यस्ताे वस्तु हाे जुन जति दियाे त्याे भन्दा १०८ गुणा बढेर जान्छ त्यसैले ज्ञान दिने जतिपनि हुनुहुन्छ उहाँको सम्मानमा गुरु पूर्णिमा पर्व मनाउने परम्परा सदीयौंदेखि यथावत् रुपमा चलिआएको छ । मातापिताको आशिर्वाद तथा गुरुकाे ज्ञान विनाकाे जीवन नरकतुल्य हुने हुँदा हरेक व्यक्तिले सर्वप्रथम आफ्नाे प्रथम गुरुका रुपमा आफ्ना मातापिता र गुरुकाे आदर पूर्वक सम्मान गर्न सक्नु नै गुरु पूर्णिमाकाे महत्त्व रहनेछ ।

ज्याेतिष तथा वास्तुविद् सुरेश रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।

Thuprai - Books and E-books