A Levels MA

धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालन

भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ । वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पु¥याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो ।

नगरपालिकाको शिक्षा शाखाबाट गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्मको पठनपाठन गर्ने अनुमति पाइएको छ । अनौपचारिकरुपमा गुरुकुलमा शैक्षिकसत्र २०७७ देखि पठनपाठन सुरु गरेको भए पनि शैक्षिकसत्र २०७८ बाट स्वीकृति लिई कक्षा सञ्चालन गरी पठनपाठनको कार्य भइरहेको गुरुकुलका संस्थापक सदस्य मोहनचन्द्र जोशीले बताउनुभयो । “गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य रहेको छ ।”

निर्धारित पाठ्यक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणीत, कर्मकाण्ड, संस्कृत ब्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन् । गुरुकुलमा छात्रा दुई र छात्र १० गरी १२ जना भर्ना भएका छन् । चालू शैक्षिकसत्रमा १५ जना विद्यार्थी भर्ना गर्ने गुरुकुलले लक्ष्य लिएको छ । “मुठ्ठी दानका माध्यमबाट गुरुकुल सञ्चालन भइरहेको छ”, संस्थापक सदस्य जोशीले भन्नुभयो, “केही दाताले पनि सहयोग गरेका छन्, दाताकै भरमा छौँ ।”

गुरुकुल सञ्चालनका लागि छुट्टै भवनसमेत अभाव छ । धाम क्षेत्रकै आश्रममा गुरुकुलमा पठनपाठनको कार्य हुँदै आएको छ । शिक्षक दरबन्दीका लागि नगरपलिकासँग आग्रह गरिएको उहाँले बताउनुभयो ।

हाल गुरुकुलमा दुई शिक्षकले पठनपाठनको कार्य गर्दै आएका छन् । मुठ्ठी दानबाट सङ्कलन भएको रकमबाट शिक्षकको तलब र गुरुकुलमा बसेर पढ्दै आएका विद्यार्थीको खाना खर्च बेहोरिँदै आएको छ । मासिकरुपमा शिक्षकको तलबका लागि रु ३५ हजार र विद्यार्थीको खाना खर्च रु १५ हजार गरी रु ५० हजार जति खर्च हुने गरेको छ । गुरुकुलमा बझाङ, कैलाली र कञ्चनपुरका विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा १८ गुरुकुल सञ्चालनमा छन् । त्यसमध्ये दुई कञ्चनपुरमा छन् ।

Thuprai - Books and E-books