शैक्षिक अवस्था सुधारका लागि अनुदान

जाजरकोट, ७ असोज (रासस) ः कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ । 

दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बतथाउनुभयो । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । यहाँका अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ । 

“अनुदान रकमबाट ८० शैक्षिक जनशक्ति भित्रनेछ,” अध्यक्ष बस्नेतले भन्नुभयो । अनुदान रकमबाट माविमा ८, निमाविमा २५ र प्राविमा १८ शिक्षक नियुक्त गरिनेछ । गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि रु एक करोड तथा १७ बाल विकास केन्द्रका लागि बाल विकास शिक्षक र कार्यालय सहयोगीका लागि रु १७ लाख ९४ हजार उपलब्ध गराएको हो । 

मावि शिक्षकलाई रु २५ हजार, निमावि शिक्षकलाई रु १८ हजार र प्रावि शिक्षकलाई रु १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराइनेछ । बाल विकास शिक्षकले रु ६ हजार र कार्यालय सहयोगीले रु तीन हजार का दरले मासिक पारिश्रमिक पाउने छन् । शिक्षण सिकाइ अनुदान आगामी चार वर्षसम्म निरन्तर वितरण गरिनेछ । 

Thuprai - Books and E-books