After SEE Portal

कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिट

Bridge Course

देशका थुप्रै विद्यालयले हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीको कक्षा ११ को दुईथरी ग्रेडसिट तयार गरेको पत्ता लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुस ७ गते लेटर ग्रेडिङ निर्देशिका जारी गरेपछि राष्ट्रिय परीक्षा बोर्डले सोअनुसार ग्रेडसिट भएकाहरुले मात्र कक्षा १२ को परीक्षामा सामेल हुनपाउने परिपत्र जारी गरेपछि विद्यालयहरुले दुईथरीका ग्रेडसिट (कीर्ते) तयार गरेका हुन् ।

विद्यालयहरुले गत असोजमा नै कक्षा ११ को परीक्षा सञ्चालन गरी गत मङ्सिरमा नै आफ्ना विद्यार्थीलाई ग्रेडसिट उपलब्ध गराएका थिए । पुरानो व्यवस्थाअनुसार सैद्धान्तिक र प्रयोगात्मक दुवैमा जोडेर न्यूनतम डीप्लस ग्रेड ल्याउनेले कक्षा १२ मा भर्ना भई पढ्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार सैद्धान्तिक र प्रयोगात्मक विषयमा अलग अलग प्राप्ताङ्क ल्याउनुका साथै सबै विषयमा कम्तीमा डी ग्रेड ल्याउनै पर्छ ।

विराटनगरको एक विद्यालयका प्रधानाध्यापकले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “कक्षा १२ मा पढिरहेका विद्यार्थीलाई बोलाएर नयाँ मापदण्डअनुसार तिम्रो ग्रेड पुगेन, त्यसैले ग्रेडवृद्धिको परीक्षा देउ, अन्यथा तिमीले कक्षा १२ को परीक्षा दिन पाउँदैनौँ भन्न नैतिक रूपमा मिलेन । त्यो असहजका साथै सम्भव कुरा पनि होइन । त्यसैले ग्रेड नपुगेकाहरुको सच्याएर नयाँ ग्रेडसिट तयार गरी परीक्षा बोर्डमा पठायौँ ।”

यस्तो समस्या देशभरि नै देखिएको छ । कतिपयले बोर्डको सूचनाप्रति हेक्का नराखी पुरानै मापदण्डअनुसारको ग्रेडसिट बोर्डसमक्ष पेश गरेका छन् । बोर्डले शिक्षा मन्त्रालयबाट स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका एवं उक्त निर्देशिकाबमोजिम पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले निर्धारण गरेको कक्षा ११ र १२ मा अध्यापन हुने विषयको पाठ्यघण्टा र कक्षा ११ को नमुना लब्धाङ्कपत्र यसैसाथ संलग्न गरिएको हुँदा सोही बमोजिम गर्न गराउनुहुनु सम्बद्ध सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको भन्दै निर्देशन जारी गरेको थियो ।

त्यस लगत्तै बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत लेटर ग्रेडिङ निर्देशिकाअनुसार विद्यालयले कक्षा ११ को ग्रेडसिट जारी गर्नुपर्नेमा कतिपय विद्यालयहरुले पुरानो लेटर ग्रेडिङ पद्धतिअनुसार जारी गरेको पाइएको हुँदा यसैसाथ संलग्न कक्षा ११ को ग्रेडसिटको ढाँचामा ग्रेडसिट जारी गरी कक्षा १२ को परीक्षा आवेदनसाथ पूर्वनिर्धारित मितिभित्रै पेश गर्नुहुन अनुरोध छ भन्दै पुनः परिपत्र गरेको थियो ।

नेपालगन्जका एक अर्का विद्यालयका प्रधानाध्यापकले पनि नाम उल्लेख नगरिदिने सर्तमा भने, “मरता क्या न करता ? भने जस्तै वाध्यता भयो । यतिबेला पुनः ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने कुरा नमिल्दो भयो । त्यसैले विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित नहोस् भनेर ट्याकटुक मिलाएर नयाँ ग्रेडसिट तयार गरी बोर्डमा आवेदनका साथ बुझाइयो । विद्यार्थीलाई जनाउ दिएका छौँ, तर अघिल्लो ग्रेडसिट च्यात्नू भनेका छौँ ।”

शनिबार परेकाले कक्षा १२ को आवेदन फाराम भर्ने अन्तिम दिन फागुन १ गतेसम्म थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले निर्देशिका जारी गर्न निकै ढिला गरिदिँदा समस्या सिर्जना भएको र त्यस बेला पनि विद्यालयहरुलाई तत्काल नतिजा सार्वजनिक नगर्न परिपत्र गरिएको थियो भन्दै थपे, “विद्यालयहरुले नपुगहरुको हकमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नुपथ्र्याे, गरेनन् होला । पुरानै विधिअनुसार आएका ग्रेडसिटलाई पनि स्वीकार्न प्रादेशिक कार्यालयहरुलाई भन्नेछौँ र त्यस्ता ग्रेडसिटका हकमा के गर्ने भन्ने बारेमा मन्त्रालयसँग बसेर निर्णय लिइनेछ ।”   

 

A Levels MA
Thuprai - Books and E-books