A Levels MA

स्वयंसेवी युवाको तथ्याङ्क सङ्कलन गरिँदै

सरकारले युवालाई स्वयंसेवक क्षेत्रमा परिचालन गर्नका लागि युवाको तथ्याङ्क सङ्कलन गर्ने तयारीमा रहेको छ । मुलुकको विभिन्न क्षेत्रमा युवालाई स्वयंसेवी भावनाबाट परिचालन गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेको हो ।

युवालाई स्वयंसेवा गर्दा ‘सुविधा लिएर वा नलिएर’ दुवै किसिमबाट परिचालन गर्र्ने योजना रहेको मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । युवाको तथ्याङ्क सङ्कलनका लागि सफ्टवेयर बनाउने जिम्मा मन्त्रालयले पुल्चोक इञ्जिनीरिङ क्याम्पसलाई दिएको छ ।

स्वास्थ्य क्षेत्र र कृषि प्राविधिकमा अहिले सरकारले स्वयंसेवी परिचालन गरेको छ । सरकारले तथ्याङ्क सङ्कलन गर्ने भएपछि अब स्वयंसेवा गर्न चाहने व्यक्तिलाई खोजिरहनु पर्ने झन्झट हट्ने छ । तथ्याङ्क विवरण सकेपछि ‘स्वयंसेवक परिचालन राष्ट्रिय रणनीति’ सबै क्षेत्रमा युवालाई स्वयंसेवीमा लगाउने मन्त्रालयको तयारी रहेको छ ।

उहाँका अनुसार विकास निर्माण, इञ्जिनीयरिङ, शिक्षण, पूर्वाधार, आपत्कालीन, वातावरण संरक्षण, सरसफाइ, वृक्षरोपण, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसङ्गतिको सचेतना जगाउनेजस्ता क्षेत्रमा परिचालन गर्नका लागि स्वयंसेवीको तथ्याङ्क लिन थालिएको हो ।

क्याम्पसले तयार पारेको सफ्टवेयरमा स्वयंसेवा गर्न इच्छुक युवाले आफ्नो व्यक्तिगत विवरण स्क्यान गरेर राख्ने छन्् । व्यक्तिगत विवरणमा तीन पुस्ते नाम, शैक्षिक योग्यता, सम्पर्क नम्बर र आफूले स्वयंसेवा गर्न इच्छुक रहेको क्षेत्रको जानकारीसहितको विवरण बेवसाइटमा राख्ने छन् । यसरी राखिएको व्यक्तिगत विवरणको आधारमा सरकार वा अन्य संस्थाले युवालाई सम्पर्क गरी स्वयंसेवामा लगाउने छन् ।

“सरकार वा अन्य संस्थाले सफ्टवेयरमा रहेको स्वयंसेवा गर्न इच्छुक युवाको तथ्याङ्क हेरेर आफूलाई आवश्यक युवालाई छनोट गरेर बोलाउने छन्” उहाँले भन्नुभयो, “यसरी स्वयंसेवा गर्न चाहने र लिने चाहनेले सफ्टवेयरको डाटावेसमा भेट भएर स्वयंसेवी क्षेत्रमा काम गर्ने छन् ।” परामर्श शाखाका प्रमुख बस्यालले बेवसाइटमा नाम दर्ता गराएका युवालाई मन्त्रालयले प्रमाणपत्रसमेत प्रदान गर्ने बताउनुभयो ।

स्वयंसेवाका लागि बेवसाइटमा दर्ता भएका युवाले प्रमाणपत्रका लागि मन्त्रालयमा निवेदन हालेपछि मन्त्रालयले सबै व्यक्तिगत विवरण हेरेर प्रमाणपत्र दिनेछ । मन्त्रालयले प्रमाणपत्र बेवसाइटमा राखी दिने छ र स्वयंसेवी युवाले ती प्रमाणपत्र आफँै प्रिन्ट गरेर लिन सक्ने छन् । उहाँले तिहारपछि ती स्वयंसेवा गर्ने इच्छुक युवाको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । मन्त्रालयले सबै स्वयंसेवी युवाको तथ्याङ्क सङ्कलन यसै वर्ष सक्ने तयारी गरेको छ ।

यसैगरी मन्त्रालयले हरेक टोल सरसफाइ गर्नका लागि महीनाको अन्तिम शनिबार अनिवार्य रुपमा युवा परिचालन गर्न योजना बनाएको छ । उपसचिवसमेत रहनुभएका बस्यालले स्थानीय तहलाई परिपत्र गरी सरसफाइमा सबै युवालाई स्वयंसेवी रुपमा खटाउन निर्देशन दिने जानकारी दिनुभयो ।

Thuprai - Books and E-books