विद्यालय नचल्दा माछा मार्दै बालिका

दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन् ।

पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा रहेको माछा मार्ने चलन अहिले पनि अभ्यासमा छ । बर्सातमा धानखेती लगाइसकेपछि फुर्सदको समयमा थारू समुदायका महिला दिनभरि माछा मारेर साँझ तरकारीको जोहो गर्ने गर्दछन् । लामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् । जोशीपुरका बालिका आमासँगै फुर्सदको समयमा नदी तथा खोला किनारमा माछा मार्न जाने गरेको उनीहरु बताउँछन् ।

नौ वर्षीया मुना चौधरी आमाको हेल्का बोकेर कुलरिया नदी किनारमा माछा मार्दैछिन् । “आजभोलि दैनिक आमासँग माछा मार्न आउँछु, मसँगै मेरो साथीहरु पनि छन् । रमाइलो भएको छ”, मुनाले भनिन्, “माछा मार्न सिक्दैछु । बिहान खाना खाएर आएका हौँ, दिनभरि मार्दा २०० ग्राम पनि मार्न सकिनँ, आमाले अलि धेरै मार्नुभएको छ ।”

कक्षा ६ मा अध्ययनरत उषा चौधरी पनि दिनभरि पानीमा भिजेर माछा मार्न आमासँगै हिँडिन् । उहाँले दिनभरि लगाएर १०० ग्राम जति माछा मारेको बताइन् । “विद्यालय बन्द भएर घरमै कति बस्नु ? त्यसैले आमासँगै माछा मार्न आयौँ ।” जोशीपुरमा रहेको कुलरिया नदीमा महिलासँगै दर्जनौँ बालबालिका नदी किनारमा माछा मारिरहेका हुन्छन् । नदीमा दैनिक पानीको बहाव बढ्दै गएकाले बालबालिकालाई पानीमा खेल्नुपर्ने काममा लगाउनु गलत भएको स्थानीयवासीको भनाइ छ । “नदी उर्लिएर आएको छ । बालबालिका नदी किनारमा बोक्न नसक्ने गहु्रँगो हेल्का बोकेर माछा मारिरहेछन्”, स्थानीय रमेश विक भन्नुहुन्छ, “यसरी पानीमा भिज्दा सरुवा रोगको जोखिम बढ्छ, नदीमा डुब्ने, बग्ने डर पनि हुन्छ । अभिभावक सचेत हुनुपर्छ ।”

थारू समुदायका महिला माछा मार्न सिपालु हुन्छन् । पानी परेर भेल बगेको दिनमा बढी माछा पाइने भएकाले फुर्सदमा माछा मार्ने गरेको सुदेश्नी डगौराले बताउनुभयो । “हामी खेतीपातीपछि यो सिजनमा माछा मार्ने गर्छौँ, हामी समूहमा निस्कन्छौँ”, सुदेश्नीले भन्नुभयो, “रमाइलो पनि हुन्छ, बेलुका तरकारीको जोहो पनि हुन्छ ।”