A Levels MA

स्ववियू चुनावका विषयमा विद्यार्थी संग छलफल गरिने, चार लाख भर्ना

त्रिभुवन विश्वविद्यालय सम्बद्ध क्याम्पसमा आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन हुने भएको छ । त्रिविका सम्बन्धन प्राप्त र आंगिक सबै क्याम्पसमा स्ववियु निर्वाचन हुने त्रिविले जानकारी दियो ।

त्रिविले आफ्ना सम्वन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचन तयारी सुरू गर्न यस अघिनै परिपत्र गरिसकेको छ । अघिल्लो पटक चुनाव हुन नसकेका क्याम्पसमा पनि यसवर्ष चुनाव गर्ने तयारी भइरहेको त्रिविले जानकारी दियो ।

२०७३ सालमा करिब २८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएसंगै आगामी फागुन १३ गते सम्म म्याद थप गरिएको छ ।

त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा वढि सम्वन्धन प्राप्त क्याम्पस छन् । आंगिक मध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन । सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशत भन्दा बढीमा चुनाव हुन सकेको थिएन ।

त्रिवि, योजना निर्देशनालयका प्रमुख रिदिश पोख्रेलका अनुसार अहिलेसम्म त्रिविमा तीन लाख ९२ हजार ४०० विद्यार्थी भर्ना भएका छन् । उनका अनुसार त्रिविका विभिन्न विभागमा अझै विद्यार्थी भर्ना हुने क्रम जारी छ । त्यसैले यो चुनावमा सहभागी हुने विद्यार्थी संख्या अहिले नै यकिन गर्न सक्ने अवस्था छैन ।

त्रिविले स्ववियु निर्वाचन तयारीका लागि विभिन्न विषयमा विद्यार्थीसंग छलफल गर्ने भएको छ । त्रिविले स्ववियु निर्वाचन तयारीका लागि विभिन्न संकायका डिन, क्याम्पस प्रमुखहरुसंग छलफल गरिसकेको जानकारी दियो ।

चुनाव सम्वन्धी सम्पूर्ण काम सम्बन्धित क्याम्पसले नै गर्दै आएका छन् । क्याम्पसले निर्वाचन अधिकृत खटाउने कार्य गर्दै आएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगावहादुर थापामगरले बताए । ‘स्ववियु चुनावका सन्दर्भमा डिनहरु, क्याम्पस प्रमुखसंग छलफल भइसकेको छ, केही दिनमै विद्यार्थीसंग बस्दैछौं ।’ उनले भने, ‘सम्वन्धित क्याम्पसलेनै हो चुनाव गराउने ।’

Thuprai - Books and E-books