After SEE Portal

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि आज भूमिपूजन गरेका छन् ।  आजै उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारीपत्रमा हस्ताक्षर भयो । करिब ३१ करोड ६९ लाख रुपियाँको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरूप यस पुस्तकालयको निर्माण हुनेछ । यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधासहितको विभिन्न प्राज्ञिक शाखाहरू हुने छन् । 

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबीआरआई)ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । 

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ । 

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।

कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवं बलियो विकास साझेदारीको प्रमाण भएको बताउँदै नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षामन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले पुर्याएको सहयोगका लागि आभार प्रकट गरे । 

A Levels MA
Thuprai - Books and E-books