बाढीले  विद्यालयमा क्षति

पाँच दिनसम्म परेको अविरल वर्षाका कारण  दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।

बाढी कक्षाकोठा भित्र पस्दा विद्यालयभित्र रहेका कागजात, फनिर्चर भिज्नुका साथै भवनमा आंशिक क्षति पुगेको छ ।

बाढीका कारण विद्यालयका धेरै कक्षाकोठामा लेदो र पानी अझै जमिरहेको छभने विद्यालय कम्पाउण्डमा लेदोको मात्रा रहेको स्थानीयले जानकारी दिए ।

गढवा गाउँपालिकाका मात्रै ७ वटा विद्यालयमा क्षति पुगेको छ । २८ वटा विद्यालय रहेको गाउँपालिकाका धेरै विद्यालयमा पानी पसे पनि ७ वटामा भने बढी क्षति पुर्याएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्यामबहादुर वि.क.ले बताए ।

वडा नम्बर २ महदेवामा रहेको नमुना आधारभूत विद्यालयको दुई वटा कोठा भत्किनुका साथै सबै कक्षामा लेदो जमेको छ । खौराहा खहरे खोला पसेर कक्षा कोठामा बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ ।

त्यस्तै गढवाकै राप्ती आधारभूत विद्यालय पचहियामा गंगरे खहरे खोला पस्दा करिब २५ मिटर पर्खाल र गेट भत्किनुका साथै कक्षा कोठाहरु सबैमा पानी पसेको छ । बालकक्षादेखि ३ कक्षासम्मको कार्पेट, खेलौना, शैक्षिक सामग्री काम नलाग्ने भएको छ ।

चैनपर माविको डेढ सय मिटर पर्खाल भत्किनुका साथै तल्लो तलाका सबै कक्षामा पानी पसेको छ । बालकक्षादेखि कक्षा ३ सम्मको कार्पेट, खेलौना, शैक्षिक सामग्री काम नलाग्ने भएको छ ।

बालकल्याण आधारभूत विद्यालय बालाखुटीको बालकक्षादेखि कक्षा तीनसम्म बस्नै नमिल्ने गरी क्षति पुगेको छ ।सरस्वती आधारभूत विद्यालय चन्दनपुरको पनि पर्खाल भत्काएको छ । जनता मावि गढवाको करिब एक सय मिटर पर्खाल भत्किएको छ । मावि पचहियाको १५ मिटर पर्खाल भत्काएको छ ।

लमही नगरपालिकामा अहिलेसम्म दुई वटा मावि र दुई वटा आधारभूत विद्यालय गरी ४ वटा विद्यालयमा क्षति पुर्याएको जानकारी प्राप्त भएको शिक्षा शाखा अधिकृत रवीन्द्र क्षेत्रीले बताए ।

वडा नम्बर ६ देउपुरस्थित आदर्श माविमा पनि बाढीले क्षति पुर्याएको छ । सोनपुर माविमा विद्यालयको अधिकांश कागजात भिज्नुका साथै बालकक्षादेखि तीन कक्षासम्मका शैक्षिक सामग्री, टिभी लगायतका सामग्री काम नलाग्ने  भएको विद्यालयले जानकारी दियो ।

दैलेखको नारायणी नगरपालिकाको ७ वटा विद्यालयमा क्षति पुगेको विवरण प्राप्त भएको शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बताए ।

उनका अनुसार नगरपालिकाको बसन्त मावि दुई कोठे भवन र घेराबार पर्खाल र देउती माविको दुई कोठे भवन भत्किएको छ । अरु विद्यालयहरुको भने पर्खालमा क्षति पुगेको छ । अरु विवरण आउन बाँकी रहेको शिक्षा अधिकृत उपाध्यायले बताए । उनले भने ‘अरु विवरण आउँदैछ । क्षतिको अवस्था र विवरण आउन अझै केही दिन लाग्छ ।’

सल्यानको शारदा नगरपालिकाका १५  विद्यालयमा  क्षति पुगेको छ । पालिकाको शिक्षा शाखाका अनुसार कुनै विद्यालयको गेट भत्किएको, पर्खाल भत्किएको, भवन चर्किएको, माथिबाट पहिरोले पुरेको छ ।।पालिकाका अनुसार सरस्वती आधारभूत विद्यालय रानीकोटको दुई कोठे भवनको भित्ता भत्किएछ । जनकल्याण प्रावि तल्लोमार्केको दुई कोठे भवनको छाना भत्किएर पढाउन नमिल्ने र साझा आवि खैराङको छत चर्किनुको साथै कम्पाउन्ड वाल भत्किएर जोखिमपूर्ण भएको छ । 

हुम्लाको ताँजाकोट गाउँपालिकाका एक मावि र दुई आधारभूत विद्यालय गरी तीन वटा विद्यालयमा क्षति पुर्याएको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दियो ।  जनप्रकाश माविको चार कोठे भवन पूर्णरुपमा भत्किएको छ ।रामदेवको आविको ६ ओटा कोठा पूर्ण रुपमा भत्किएको छ । कैलाश आविको आधा भवन पहिरोले तानेको र अरु पनि भासिएकाले काम नलाग्ने अवस्थामा पुगेको छ । 

Thuprai - Books and E-books