Ranakalin Shiksha

पाँच रुपियाँले सर्जक बनायो

औपचारिक शिक्षा बिना एक दर्जन महाकाव्य र खण्डकाव्य सिर्जना

फक्रेको तरुपुष्प वैलिन गई खस्ने छ बेला पुगे ।

सेताअक्षरमा दिएर यमले चिठ्ठी पठाई सके ।

सेखी गर्दछ भ्यागुतो रहपरी आकाश थाम्दो सरी ।

कस्तो लोक छ, छन् अनन्त सपना आश्चर्य लाग्यो हरि ।।

मध्य र सुदूरका साहित्यकार माझ अग्रपङ्तिमा आउने नाम हो मनिराज जोशी । उनै जोशीका जोशिला भाका हुन् मााथिका श्लोक । झन्डै साढे चार दशक देखि सक्रिय लेखनमा रहेका जोशी महाकाव्य कारका रूपमा चिनिन्छन् । तर, उनको परिचय यतिमै सीमित भने छैन ।

२०१२ सालमा डोटीको गाँजरीमा जन्मिएका जोशीले नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय छ भन्छन् उनका समकालीन तथा नयाँ पुस्ताहरू । ८ वर्षकै पितृत्व गुमाएका उनलाई यही घटनाले साहित्यकार बन्न उत्प्रेरित ग¥यो । उनी भन्छन् ‘वियोगका बेला कोरिएका शब्दहरू कविता भए ।’ २०२८ सालमा जन्मथलो डोटीको गाँजरीमा गाउँमै आयोजना भएको एक कार्यक्रममा कन्जुस व्यक्तिबाट पाँच रुपियाँ इनाम पाएपछि उनले साहित्य लेखनको सुरुवात गरे ।

उनी त्यो पुरस्कारलाई कहिल्यै भुल्दैनन् । ‘गाउँमा कन्जुस प्रधान थिए, उनको बारेमा कविता लेखे र सुनाए उनले गोजीबाट ५ रुपियाँ झिकेर दिए, मलाई संसार जितेको जस्तो लाग्यो’ त्यो पल सम्झिँदै जोशीले भने ।

साहित्य यात्रा

जोशीको साहित्य यात्रा निकै रोचक छ । डोटी, गाँजरी पुर्खेयौली घर भएका जोशी २०२८ सालमा ज्योतिषी सिक्न गए । त्यसै क्रममा उनलाई कविता लेख्ने रहर जाग्यो । रहरमै कविता लेख्दालेख्दै उनी साहित्यका अनुरागी भए । त्यसपछि उनी साहित्य–कर्मबाट टाढा रहन सकेनन् । संस्कृतका श्लोक पढ्दै गर्दा कविता लेख्ने रहर पलाएको जोशी बताउँछन् । ‘संस्कृत श्लोक पढ्दा कविता लेख्ने रहर जाग्यो,लेख्दै गर्दा साहित्यको नशा बसेको पत्तै पाइनँ’ उनले भने ।

त्यसको ७ वर्षपछि २०३५ सालमा जोशीको परिवार तराई झ¥यो । १० वर्ष सम्म थुप्रै कविता कोरे तर पनि कृर्ती प्रकाशन भएन । २०४५ सालमा शिवरात्रिको अवसरमा कैलालीको बेहडाबाँबा मन्दिर पुगेपछि जोशीलाई मन्दिरकै छेउमा बसेर कविता लेख्ने जोस चल्यो । फर्कँदा बाटोमा अर्को कविता लेखे, घरपुगेपछि अर्काे । एकैदिनमा तेस्रो कविता लेखे । अनि पहिलो कृर्ती बेहडाबाँबाको उत्पत्ति र महिमा शीर्षक दिएर प्रकाशन गरे ।

औचारिक शिक्षा बिनाका महाकाव्यहरू

कविताबाट साहित्य यात्रा थालेका जोशीले अन्य विधामा समेत कलम चलाएका छन् । ‘हरेक विधाका छुट्टाछुट्टै पाठक भएकाले सबैमा लेख्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसपछि कथा, निबन्ध, खण्डकाव्य र महाकाव्य लेखेँ ।’

औपचारिक शिक्षा हाँसिल समेत नगरेका जोशीले लेखनका क्षेत्रमा ३१ बढी कृति प्रकाशन गरिसकेका छन् । साहित्यको विशिष्टतम् कृति मानिने महाकाव्य मात्रै ६ वटा प्रकाशन गरेका छन् । ७ वटा खण्डकाव्य छन् । उनले सुदूरपश्चिमका प्रसिद्ध व्यक्तित्व एवम् धार्मिक तथा पर्यटकीय क्षेत्रबारे महाकाव्य लेखेका छन् । जयपृथ्वीबहादुर, सहिद दशरथ चन्द, पहलमानसिंह स्वाँर, प्रकाश, शैलेश्वरी र खप्तड उनका महाकाव्य हुन् । ७ खण्डकाव्य, ११ धार्मिक आस्थाका कृति, १ कथा सङ्ग्रह र अन्य ८ वटा मानव चरित्र निर्माणमा उपायोगी कृति गरी उनका ३१ वटा कृति प्रकाशनमा छन् ।

२०३४ साल पछि उनको लेखनीले निरन्तरता पायो । ‘२०३४ सालमा बसाइँसराइ गर्दै धनगढी आए, पत्रपत्रिका किताबहरू पढ्न थाले, लेखनमा रुचि बढेर आयो, स्थानीय पत्रिकाहरूमा लेखे, सबैले राम्रो भन्न थाले अनि पुस्तक निकाले’ अतीत सम्झँदै उनले भने ।

जोशीले किताबी अध्ययन मात्रै ज्ञान हो भन्ने भनाइलाई मिथ्या साबित गरिदिएका छन् । ‘ज्ञान भनेको किताबी ज्ञान मात्रै होइन,’ उनी भन्छन् ‘आदिकवि भानुभक्त आचार्य, कालिदासले कति पढेका थिए र, ज्ञान भनेको त बिबेक हो, किताब भन्दा बाहिरबाट बिबेक ल्याएन सकिन्छ ।’

‘श्रीखण्ड जति घोटिन्छ त्यतिनै बास्ना दिन्छ, जब ढुङ्गा घोटिन्छ अनि मात्र शालिग्राम बन्छ, जिन्दगी पनि त्यस्तै हो, नघोट्टिएको ढुङ्गा काम लाग्दैन, संघषै विनाको जिन्दगी पनि त्यस्तै हो, काम लाग्दैन ।’ जोशी अरूलाई सुनाउँछन् ।

गुमनाम परिचय : कर्मचारी र ज्योतिषी

जोशीको परिचय साहित्यकारमा मात्रै सीमित छैन । पूर्व निजामती कर्मचारीका रूपमा पनि उनको परिचय जोडिएको छ । ज्योतिषी ‘कोर्स’ पूरा गरेको केही समयपछि २०३४ सालमा उनी बसाइँ सरेर धनगढी पुगे । २०३४ सालमा निजामती सेवामा आबद्ध जोशीले त्यहाँ झन्डै दुई दशक सेवा गरे ।

त्यसपछि पनि उनको यात्रा जारी नै रह्यो । ‘दिनभर अफिसको काम गरेर बिहान–बेलुका साहित्य लेख्थेँ ’ उनले भने । २०३५ सालपछि उनी साहित्यमा अझ बढी क्रियाशील भए । त्यति बेला महेन्द्रनगरबाट प्रकाशन हुने पत्रिकामा उनी निरन्तर रचना पठाउन थाले ।

‘रचना प्रकाशन हुन थालेपछि साहित्यमा केही गर्ने हौसला मिल्यो,’ उनी भन्छन्, ‘यसले कृति प्रकाशन गर्न आधार बनायो ।’ २०५४ सालमा तृतीय श्रेणीबाट उनले स्वेच्छिक अवकाश लिए । त्यसपछि उनले ज्योतिषीलाई व्यावसाय बनाए । उनी धनगढीका ‘नामी’ ज्योतिष मानिन्छन् । उनी कहाँ चिना हेराउन तथा भविष्यबारे जान्न आउनेको दैनिक भिड लाग्ने गरेको छ । निजामती कर्मचारीका रूपमा कार्यरत रहँदा पनि उनले थुप्रै कृति सिर्जना गरे ।

सम्मानको आइरो

नेपाली साहित्यको योगदान स्वरूप विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका जोशीले गत वर्षको संस्कृत विद्या तर्फको प्रादेशिक प्रतिभा पुरस्कार समेत पाए । गत असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा उनलाई ५० हजार नगद तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

जोशीले हाल सम्म सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार, विद्यार्थी साहित्य पुरस्कार, प्रतिभा पुरस्कार (विराटनगर), लेखनाथ काव्य पुरस्कार (त्रिमूर्ति निकेतन), महाकवि देवकोटा पुरस्कार (काठमाडांै), टेकनाथ–सिवा अधिकारी पुरस्कार (विराटनगर), दीनानाथ भट्ट पुरस्कार (कैलाली), नर–राजु मोबरा पुरस्कार, चेतना संरक्षण प्रतिष्ठान पुरस्कार (२०७४) प्रादेशिक प्रतिभा पुरस्कार (२०७५) पुरस्कार प्राप्त गरिसकेका छन् ।

मुलुकभरका सय भन्दा बढी विभिन्न साहित्यिक संस्थाले उनलाई सम्मानित र पुरस्कृत गरेका छन् । उनको योगदानको कदर गर्दै धनगढीका दुई दर्जन संघसंस्थाले उनको रथ यात्रासहित नागरिक अभिनन्दन समेत गरेका थिए ।