अध्यक्ष, प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई करिब १३ लाख रुपियाँ असुल गर्न माग गर्दै मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा(३ का प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई रु.१२ लाख ८४ हजार १२२ त्रिहत्तर पैसा हिनामाना गरेको पाइएको छ ।

उक्त विद्यालयको भवन निर्माण गर्दा विद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिएको आरोप पुष्टि भएको भन्दै तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल, सहायक प्रधानाध्यापक तथा लेखापाल रामलाल कडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगर विरुद्ध आरोप पत्र दायर गरेको हो ।

 निजहरूले निर्माण समाग्री लुकाई बिक्री वितरण गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा अख्तियारले विद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको, विद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई भ्रष्टाचार गरेको पाइएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजलाई ऐनको दफा १७ ले व्यवस्था गरेबमोजिम दफा ३ को उपदफा (१) र ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम कैद तथा जरिवानाको सजाय हुन मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

त्यसैगरी व्यवस्थापन समितिका अध्यक्ष थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेको, आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा तत्कालीन प्रधानाध्यापक र सहायक प्रधानाध्यापक लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कार्यको मतियार भई ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको (कसुर गर्ने व्यक्ति सरह) कसुर गरेको पुष्टि भएको अख्तियारले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा कायम गरी ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं र दफा १७ ले व्यवस्था गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) र ऐनको दफा ३ को उपदफा (१) बमोजिम हानिनोक्सानी पुर्याइएको सार्वजनिक सम्पत्तिको असुलउपर गर्नका लागि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books