Edusanjal +2 Scholarship 2022

विज्ञानभित्र सबथोक, अनुसन्धानको भोक

Thuprai - Books and E-books

लहरों से डर कर नौका पार नहीं होती

कोशिश करने वालों की हार नहीं होती

हिन्दी साहित्यकार सोहनलाल द्विवेदीका यी उद्गार पढ्दा लाग्छ विवेकराज भट्टराईको जीवनमा मेल खाए जस्तो । संघर्षमा मेल खाए जस्तो । आसय मिले जस्तो । भाव उस्तै उस्तै । आँखामा गाम्भीर्यता । मुहारमा शालीनता । मृदुभाषी विवेकराज हालै सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा कम खुसी देखिँदैन थिए । उनी भन्दा खुसी देखिन्थे उनको साथमा भेटिएका उनका बुबाआमा । खुसी नहुन् पनि कसरी ? एउटा मध्यम वर्गीय परिवारमा जन्मिएको आफ्ना छोराले विश्वविद्यालयका कुलपतिको हातबाट दुई-दुईओटा गोल्ड मेडेल लगाए पछि । रसायनशास्त्र केन्द्रीय विभागका विवेकराजले एम.एस्सी. रसायनशास्त्र विषयमा सर्वप्रथम भएर सो समारोहमा अमृत र पिएम सिंह स्वर्ण पदक पाएका थिए । त्यही खुसीमा प्रसन्न थिए उनका बुबाआमा । केही दुःख पनि मान्थे छोराले समय दिन सक्दैन भनेर । छोरोको मेहनतमा आफूहरूले पुरा गर्न नसकेका सपना पुरा भएको आभाष हुन्थ्यो देख्ने जो कोहीलाई उनीहरूमा ।

बुबाआमाको साथमा विवेकराज

सामुदायिक विद्यालयबाट एसईई

आजभोलि गुणस्तरीय शिक्षाको खोजी भन्दै युवा पुस्ता गाउँ छाडेर सहर पस्न थालेका छन् । आफूसंग भएको जायजेथा बेचेर भए पनि विद्यालय स्तरीय शिक्षा निजी विद्यालयमा पढाउने होड नै चलेको छ । यहाँ शिक्षकले आफैंलाई विश्वास गर्दैनन् । आफूले पढाएको विद्यालयमा छोराछोरी पढाउँदैनन् । नीति नियामकलाई आफ्नै निर्णयमा भर छैन । गुणस्तरीय शिक्षा भन्दै ठुला महल, चर्को शुल्क तिर्छन् । दुई चार अक्षर अङ्ग्रेजी बोल्न सक्ने मान्छे बनाउँछन् । तर यो नियम विवेकमा लागु हुँदैन । उनले सानै देखि सामुदायिक विद्यालयमा नै पढें । आफ्नो बुबाले पढाउने विद्यालयबाट प्राथमिक शिक्षा पुरा गरे । कास्की जिल्लाको तत्कालीन हंसपुर गाविस हाल रुपा गाउँपालिका स्यानीचौरमा हुर्किएका विवेक सानैदेखी मेहनती र जिज्ञासु स्वभावका थिए । उनले कक्षा ५ सम्म आफ्नै बुबाले पढाउने इन्द्रायणी आधारभूत विद्यालयमा अध्ययन गरे । कक्षा ६ देखि १० सम्म अध्ययन तनहुँको बालविद्या मन्दिर माध्यामिक विद्यायलयबाट गरे । उनको एसईईमा पनि प्राप्ताङ्क राम्रो थियो ।

उच्च शिक्षा र संघर्ष

विवेक पढाइमा मात्र होइन घरायसी काममा पनि उत्तिकै अब्बल छन् ।  उनलाई घरको सबै काम गर्न आउँछ । रुपाकोटको ग्रामीण परिवेशमा हुर्किएका उनी एसईईपछि उच्च शिक्षाको खोजीका लागि काठमाडौं हानिए । उनको उच्च शिक्षा आर्जनको यात्रालाई सहज बनाइ दियो उच्च माध्यमिक शिक्षा परिषद्ले । उनले सो परिषदबाट प्लस टु अध्ययनका लागि छात्रावृत्ति पाए । छात्रवृत्तिमा उनको रोजाइमा पर्न गयो पेन्टागन इन्टरनेसनल कलेज । ग्रामीण माटोमा लुकामारी खेल्दै हुर्किएका उनलाई काठमाडौँ बिल्कुल नौलो थियो। बुबाआमाको काख उस्तै न्यानो लाग्दा लाग्दै त्यो न्यानो आभासलाई भुलाएर उनलाई प्लस टु विज्ञानको अध्ययनले अझ मेहनत गर्न सिकायो । विज्ञान विषयको भित्रिपाटोमा घुस्दै जाँदा कतिखेर समय बित्थ्यो उनलाई पत्तै हुँदैन थियो । अझ कडा मेहनत गर्न थाले । उनको विषय जटिल थियो । तर उनले त्यो अनुभूति कहिँल्यै गरेनन् । थप मेहनत गर्न थाले । ‘विषय जटिल छ भनेर पढ्न छाडिन ।’ उनी भन्छन्, ‘अरुको देखासेखी पनि गरिन बरु पाएका विषयवस्तुलाई राम्ररी बुझेर पढें अन्ततः प्लस टु पनि डिस्टिङ्सनमा पास गरे।’

त्यसपछिको सपना थियो उनको एक चिकित्सक बन्ने । एमबीबीएसको प्रवेश परीक्षाका लागि केही महिना तयारी गरे। झिनो अंकले पूर्ण छात्रवृत्तिमा पढ्न पाएनन् । खर्च गरेर एमबीबीएस पढ्न सक्ने आर्थिक अवस्था थिएन । मनमा चिकित्सक बन्ने उत्कट अभिलाषा हुँदा हुँदै उनले आफ्नो सपना अनुसन्धानकर्ता बनाउनेतर्फ मोडे । ‘एमबीबीएको पूर्ण छात्रावृत्तिमा नाम निकाल्न सकिन, थोरै नम्बरले अर्को साथीले उछिन्यो, यसको नतिजा संगै डाक्टर कि वैज्ञानिक बन्ने भन्ने द्वविधापूर्ण सपना पनि एकातर्फ मोडियो ।’ अतित स्मरण गर्दै उनी भन्छन्, ‘ वैज्ञानिक बन्ने सपना बोकेर त्रिचन्द्र कलेज तिर हानिए।’

उनको त्रिचन्द्र कलेजको यात्रा पनि त्यति सहज कहाँ थियो र ! आफ्ना सीमित इच्छा आकांक्षा पुरा गर्न पनि उनले केही पैसा कमाउनै पर्ने भयो । पढाइसंगै उनले पार्ट टायम जब सुरु गरे । धेरै ट्युसन सेन्टर धाए । काम र बिएससी पढाइलाई पनि संगसंगै लगे । अफिसको कार्यव्यस्तताका कारण उनलाई नियमित कलेज जान समस्या भएपछि उनले कलेजमा भन्दा पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक किनेर घर र अफिस मै बसेर सेल्फ अध्ययन बढी गरेको बताए ।

बेलाबखत उनलाई पनि लाग्थ्यो साथीहरू जस्तै जापान, अस्ट्रेलियातिर जाउँ । सपनाको महल सजाउँ । ‘कहिलेकाहीँ  सोच्थें पढेर के गर्ने ? साथीहरू कोही अस्ट्रेलिया पुगे, कोही जापान विवेक पनि यो सपनाबाट अछुतो कहाँ रह्यो र यो सपनाले  झ्याप्प छोप्यो !’ उनी भन्छन्, ‘सोच्थें आयल्स वा टोफेल गरेर  अस्ट्रेलिया वा अमेरिका हानीउ, पैसा कमाउ, तर भित्र कताकता पढाइको भोक जीवितै थियो त्यही भोकले झक्झक्यो र विदेशिनबाट रोक्यो ।’

उनले संघर्ष गरे । होम ट्युसन पढाए । कोचिङ सेन्टरमा काम गरे । उनले आफ्नो पढाइको खर्च पनि जोहो गरे । परिवारलाई पनि थोरबहुत आर्थिक सहयोग गरे । पढाइ, काम र आफ्नो परिस्थितिलाई सहजरुपमा व्यवस्थापन गरेर उनले बिएस्सी पनि आफ्नो ब्याचको टपर बन्दै उत्तीर्ण गरे। यसबीच उनले  इन्डिया, बङ्गलादेश र नेपालमा आयोजना भएका धेरै वैज्ञानिक सम्मेलन तथा भेलामा सहभागी हुने अवसर पाए । यस्ता सम्मेलनमा भागलिन र पढाइलाई सन्तुलित रुपमा अघि बढाउन प्रोत्साहित गर्ने गुरु प्राडा सुरेन्द्र कुमार गौतमलाई आभार व्यक्त गर्दै उनी भन्छन्, ‘यो सफलताको श्रेय जति मेरो परिवारलाई छ त्यति नै प्राडा गौतमलाई पनि, म यी दुवैको सधैं ऋणि नै हुनेछु ।’

त्यसपछिको उनको उच्च शिक्षाको गन्तब्य बन्यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत रसायनशास्त्र केन्द्रीय विभाग। उनी एमएस्सी केमिस्ट्री अध्ययनको सुरुवाती चरणबाट नै अब्बल सावित भए। उनको लगनशीलता र अनुसन्धानको भोक रसायनशास्त्रका प्राध्यपक डा. निरन्जन पराजुलीको आँखामा पुग्यो । डा. पराजुलीले अनुसन्धानमा उनलाई धेरै सहयोग गरेको उनले बताए।

विवेकले हालसम्म १२ वटा अनुसन्धानमूलक वैज्ञानिक लेखमा योगदान पुर्याएका छन्। अनुसन्धानको लागि उनले चाइनिज एकेडेमी अफ साइन्स र विश्वविद्यालय अनुदान आयोगबाट सहयोग पाएका छन्। उनको कडा मेहनत, पढाइ प्रतिको इमानदारिता र दृढ़ आत्मविश्वासले उनलाई एमएसी केमिस्ट्री टपर बनायो। फलस्वरूप त्रिवि ४७ औं  दीक्षांत समारोहमा अमृत र पिएम सिंह दुई स्वर्ण पदक प्राप्त गरेका हुन् । साथै उनी नेपाल केमिकल सोसाइटीबाट प्रदान गरिने उत्कृष्ट विद्यार्थीको पुरस्कार पनि हासिल गर्न सफल भएका छन्।

सधै उत्कृष्ट नतिजा कसरी ?

पढ्दाखेरी नै आकर्षक पाराले पढ्छन् उनी । उनलाई यसरी पढेको कुरा घोक्नु पर्दैन । मुस्कुराउँदै भन्छन, ‘म मैले पढ्ने कुराहरुलाई सधै केही न केही कुरासंग रेलेट गर्छु जसले गर्दा मलाई पाठ्यपुस्तकमा भएका कुरा नघोकी याद हुन्छ।’ उनी थप्छन्, ‘Mnemonics हरू बनाएर पढ्ने गर्छु जस्ले गर्दा म लेख्ने कुरामा झुक्किन्न। अनि मसंग राम्रो लेख्ने कला पनि छ। मलाई  यति चाहिँ आत्मविश्वास छ कि परीक्षामा केही नजानेको कुरा आए पनि, केही त पक्कै लेखेर आउछु। म आत्तिन्न। त्यसैले गर्दा होला राम्रो नतिजा आएको ।’

रुचि र अबको यात्रा

उनलाई धेरै काम गर्न मन पर्छ । खेल्न मनपर्छ । नयाँ कुरा सिक्न, पढ्न, साथीभाइसंग नयाँ ठाउँ घुम्न, रमाउन, मुभी हेर्न, म्युजिक सुन्न, अनुसन्धान गर्न, कसैलाई केमिस्ट्रीका बेसिक कुरा सिकाउन, पढाउन, आदि। ‘अबको मेरो यात्रा भनेको अनुसन्धानमा नै होमिनु हो र संगसंगै पिएचडी डिग्री हासिल गर्नु हो।’ उनी भन्छन्, ‘अमेरिकाको कुनै विश्वविद्यालयमा गएर त्यहाँको अनुसन्धान र कार्यविधिहरूलाई अनुकरण गरी नेपाल आएर केही नयाँ कुराको थालनी गरुँ भन्ने सोच्न थालेको छु ।’

विज्ञान कला हो । यहाँ साहित्य छ । दर्शन छ । जीवन छ अथाहा सम्भावना छ । त्यसैले विज्ञान रोजेको बताउँछन् ।‘विज्ञानलाई विज्ञानको आँखाबाट मात्र हेर्ने हो भने विज्ञान मात्र देखिएला तर विज्ञानलाई जीवनको आँखाबाट हेर्ने हो भने कला त्यहीँ छ, साहित्य त्यहीँ छ, जीवन त्यहीँ छ, दर्शन त्यहीँ छ  त्यसकारणले मेरो सम्पूर्ण रुचि यहि छ।’ उनी थप्छन, विज्ञानभित्र सबथोक छ, मलाई अनुसन्धानको भोक छ ।’