A Levels MA

पूर्व विद्यार्थीद्वारा अक्षयकोष स्थापना

बेनी, १३ कात्तिक (रासस) : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगङ्गा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु पाँच लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । 

सिङ्गापुर पुलिसबाट सेवानिवृत्त पिप्लेको घोटडाँडा निवासी कमल शाहीले दिवङगत बुबा देवबहादुर शाहीको स्मृतिमा रु पाँच लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको हो । 

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता शाहीले विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका आफ्ना स्वर्गीय बुबाको स्मृतिमा वार्षिक रूपमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी ‘देवबहादुर शाही स्मृतिकोष’ कोष घोषणा गर्नुभएको विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले जानकारी दिनुभयो । 

सो कोषबाट प्राप्त हुने ब्याज रकमबाट वार्षिक ५० प्रतिशत छात्रवृत्ति र ५० प्रतिशत रकम विद्यालयको आन्तरिक व्यवस्थापनमा खर्च गर्ने गरी प्रबन्ध मिलाइएको सहयोगदाता शाहीले बताउनुभयो । आफूले अध्ययन गरेको र बुबाले अध्यापन गराएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सहयोगदाता शाहीलाई विद्यालयका प्रअ ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर शाहीलगायतले सम्मान गर्नुभएको थियो । 

Thuprai - Books and E-books